यू–१९ क्रिकेट टोलीको कप्तानी गर्ने जिम्मा दीपेन्द्रलाई

काठमाडौं : मलेसियामा हुने एसीसी यू–१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि दिपेन्द्रसिंह एेरीको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । आज नेपाल यू–१९ राष्ट्रिय क्रिकेट टोलीको अन्तिम नामावली सार्वजनिक भएको हो । मलेसियामा भदौ २३ देखि सुरु हुने प्रतियोगिताको लागि १४ खेलाडी सम्मिलित टोलीको कप्ताननीको जिम्मा ऐरीलाई दिइएको छ । यसअघि सन्दिप लामिछानेले टोलीको कप्तानी गर्दै आएका थिए । अघिल्लो महिना यू–१९ विश्वकपको छनोट चरण खेल्न सिंगापुर पुगेको टोलीबाट ४ खेलाडी परिवर्तन गरिएको छ । पछिल्लो पटक टोलीमा रहेका ललितनारायण राजवंशी, प्रकाश केसी र रिजन ढकाल यसपटक वैकल्पिक खेलाडीमा परेका छन् भने आदील खान टोलीमा अटाएनन् । सन्दिप जोरा, नन्दन यादव, सुमित महर्जन र विक्रमकुमार भूसाल टोलीमा परेका नयाँ खेलाडी हुन् । छनोट टोलीमा राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र यू–१९ टोलीका प्रमुख प्रशिक्षक विनोद दास रहेका छन् । प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, थाइल्यान्ड र भुटान रहेका छन् । समूह ‘बी’ मा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार रहेका छन् । फाइनलमा पुग्ने दुई टोली एसीसी यू–१९ एसिया कपका लागि छनोट हुनेछन् । यु–१९ नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी (कप्तान), सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा मगर, अनिलकुमार शाह, पवन सर्रा रहेका छन् । त्यसैगरी अन्य खेलाडीहरुमा रोहितकुमार पौडेल, किशोर महतो, शाहव आलम, नन्दन यादव, विक्रमकुमार भुसाल, सन्दिप जोरा र सुमित महर्जन रहेका छन् । त्यस्तै वैकल्पिक खेलाडीहरुमा कमल सिंह ऐरी, ललितनारायण राजवंशी, प्रकाश केसी र रिजन ढकाल रहेका छन् । नेपाली टोली २३ भदौमा मलेसिया प्रस्थान गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित