विश्वकप क्रिकेटमा इंग्ल्यान्डको विजयी सुरुआत, आज वेष्ट इन्डिज र पाकिस्तान भिड्दै
काठमाडौं । विश्वकप क्रिकेट २०१९ को पहिलो खेलमा घरेलु टिम इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ । लण्डनको किनिङटोन ओभलमा भएको उद्घाटन खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
३१२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन मात्रै बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि ओपनर डि ककले सर्वाधिक ६८ रज बनाए । रसिई भान डेर डुसेनले ५० रन बनाएपनि अन्य खेलाडी सस्तैमा समेटिए । इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले तीन विकेट लिए । त्यस्तै लियाम प्लुंकेट र बेन स्टोक्सले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३११ रन बनाएको थियो ।इंग्ल्यान्डका लागि बेन स्टोक्सले ७९ बलमा ९ चौकाको मद्दतमा ८९ रन बनाए ।
उनकै उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ठूलो लक्ष्य दिएको हो । त्यस्तै, इंग्ल्यान्डका अन्य तीन खेलाडीले अर्धशतक बनाए ।
इओइन मोर्गनले ५७, जासन रोयले ५४ र जोइ रुटले ५१ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका इमरान ताहिर र लुन्गी नगिडीले समान २–२ विकेट लिए ।
विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो दिन दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिज र एक पटकको विश्वकप विजेता पाकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ ।
प्रतिक्रिया