विश्वकप क्रिकेट : पाकिस्तानसँग इंग्ल्यान्ड पराजित, आज श्रीलंका र अफगानिस्तान भिड्दै

world cup cricket 2019

  काठमाडौं । विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ । समयअनुसार ३ बजेर १५ मिनेटमा श्रीलंकाले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिमले आफ्नो पहिलो खेलमा हार ब्यहोरेका थिए ।

श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । कार्डिफस्थित सोफिया गार्डेनमा आज हुने खेलमा दुवैै टिमलाई जित्नुपर्ने दबाब छ ।

श्रीलंका टिम
दिमुथ करुनरत्ने (कप्तान०, धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।

अफगानिस्तान टिम
गल्बादिन नाइब (कप्तान), अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी ।

यसैबीच सोमबार राति भएको खेलमा पाकिस्तानले विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । पाकिस्तानले इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको हो ।

३४९ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३४ रन मात्रै बनाउन सक्यो । इंग्ल्यान्डले हारे पनि दुई खेलाडीले भने शतक हाने । जोइ रुटले १०४ बलमा १०७ रन बनाए । उनले १० चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै, जोस बुटलरले १०३ रन बनाए । ७६ बलको सामना गर्दै ९ चौका र दुई छक्का प्रहार गरेका बुटलरले उत्कृष्ट प्रदर्शन गरे पनि आफ्नो टिमलाई जिताउन सकेनन् । रुट र बुटलरले १३० रनको साझेदारी गर्दै जिततर्फ लगेका थिए । तर बुटलर र रुट आउट भएसँगै इंग्ल्यान्ड पराजित भएको हो ।

पाकिस्तानका लागि वाहब रियाजले तीन र मोहम्मद अमिर शादब खानले समान २–२ विकेट लिए ।

ट्रेन्ट ब्रिजमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३४८ रन बनाएपछि इंग्ल्यान्डले ठूलो लक्ष्य पाएको हो । पाकिस्तानका लागि ओपनरदेखि मध्यक्रमका ब्याट्सम्यानले राम्रो खेले ।

मोहम्मद हफिजले ८४ रन बनाए । ६२ बलको सामना गरेको उनले ८ चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै, बाबर अजामले ६३, कप्तान सर्फराज अहमदले ५५, इमाम उल हकले ४४ र फखर जमानले ३६ रन बनाए ।

पाकिस्तानका लागि फखर जमान र इमाम उल हकले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । त्यस्तै, हफिज र बाबरले तेस्रो विकेटको लागि ८८ रनको साझेदारी गर्दा हफिजले कप्तान सर्फराजसँग ८० रनको साझेदारी गरेपछि पाकिस्तानले उच्च स्कोर बनाएको हो । बलिङतर्फ इंग्ल्यान्डका मोइन अली र क्रिस वोकसले समान ३–३ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित