विश्वकप क्रिकेट : साविक विजेता अष्ट्रेलिया ३६ रनले पराजित

asuatralia vs India

  काठमाडौं । इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेटमा भारतले विश्वविजेता अष्ट्रेलियालाई पराजित गरको छ । लन्डनस्थित केनिङटन ओभलमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो ।

३५३ रनको ठूलो चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा ३१६ रन मात्रै बनाएपछि भारतले जित हात पारेको हो ।

शिखर धवनको शतक अनि उत्कृष्ट बलिङ मद्दतमा भारतले अष्ट्रिलयालाई पराजित गरेको हो।

साविक विजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गर्द भारतले १२औं संस्करणमा लगातार दोस्रो जित हात पारेको छ।

भारतसँग पराजित भएसँगै लगातार दुई खेल जितेको साविक विजेता अष्ट्रेलियाको अपराजित यात्रा टुङ्गिएको छ भने अंक तालिकामा पनि भारत भन्दा पछि परेको छ ।

भारतका लागि धवनले १०९ बल खेल्दै १६ चौकाको मद्दतमा ११७ रन बनाए। कोहलीले ८२, रोहितले ५७ र हार्दिक पाण्ड्याले ४८ रन जोडे। अष्ट्रेलियाका मार्कुस स्टोइनिसले २ विकेट लिए।

यता, अष्ट्रेलियाका लागि डेविड वार्नर, स्टिभ स्मिथ र एलेक्स क्यारीले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन। स्मिथले सर्वाधिक ६९ रन बनाएको इनिङ्समा वार्नरले ५६ रन जोडे। एलेक्स क्यारीले नटबउट ५५ रन बनाए। उस्मान खवाजाले ४२, आरोन फिन्चले ३६ र ग्लेन म्याक्सवेलले २८ रन जोडे।

भारतका लागि जसप्रित बुमराह र भुवनेश्वर कुमारले ३÷३ तथा युजभेन्द्र चाहालले २ विकेट लिए।

जारी विश्वकपमा भारतको यो लगातार दोस्रो जित हो । यसअघि भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । अष्ट्रेलियाको भने यो पहिलो हार हो । यसअघि भएको दुई खेलमा अष्ट्रेलियाले जित हात पारेको थियो ।

अष्ट्रृेलियाले यस अघि अफगानिस्तानलाई ७ विकेट र वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो ।

गएरातीको खेलपछि लगातार तीन खेल जित्दै न्यूजिल्याण्ड पहिलो स्थानमा छ भने दोस्रो स्थानमा इंग्ल्याण्ड छ । तीन खेल खेलेको इंग्ल्याण्ड पनि एक खेलमा पराजित भएको छ । अब न्यूजिल्याण्ड र भारतमात्र यस संस्करणमा अपराजित छन्। न्यूजिल्याण्डको ६ अंक छ भने दोस्रो स्थानमा रहेको इंग्ल्याण्ड, भारत र अष्ट्रेलियाको समान ४ अंक छ । इंग्ल्याण्ड र अष्ट्रेलियाले तीन खेल खेलिसकेका छन् भने भारतले दुई खेल मात्र खेलेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित