जापानमा पहिलो पटक नेपालीहरुको फेस्टिबल
काठमाडौं । जापानी नागरिकलाई नेपाल चिनाएर भ्रमण वर्ष सन २०२० मा निमन्त्रणा गर्न उद्देश्यले जापानको नागोयामा पहिलोपटक नेपाल फेष्टिबल सम्पन्न भएको छ । नेपाल सरकारले सन् २०२० लाई २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गरिसकेको छ ।
जापानीहरुलाई नेपाली कला, संस्कृति तथा मौलिक पहिचानबारे जानकारी दिन त्यहाँ रहेका नेपालीहरुले फेस्टिबल आयोजना गरेको जनाएका छन् ।
नेपालको पर्यटन प्रर्वद्र्धन गर्ने उद्देश्यका साथ आयोजित फेष्टिबलको जापानका लागि नेपाली राजदूत प्रतिभा रानाले उद्घाटन गरेकी थिइन् ।
फेस्टिवलका क्रममा नेपालीहरुले बाजागाजासहित विभिन्न जातीय पोशाकमा सजिएर नृत्य तथा झाँकी प्रदर्शन गरेका थिए । फेस्टिवलमा नेपाली खानाका स्टल १२ राखिएको थियो । नेपालको प्रचारप्रसार गर्न अन्य विभिन्न स्टलहरु पनि राखिएको थियो ।
फेष्टिवलमा जापनिज नागरिकहरूका साथै नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएका छन् ।फेष्टिवलको मुख्य आकर्षणका रुपमा राखिएको २ तलाको नेपाली बाटुले घरमा फोटो खिच्नेको भीड नै लागेको थियो ।
फेष्टिवलमा आइची प्रिफेक्चरका गभर्नर ओमुरा हिदेयककी, नेपाली राजदूत उपनियोग उपप्रमुख कृष्णचन्द्र अर्याल, एनआरएनएका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्तलगायत एनआरएनका विभिन्न पदाधिकारीलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया