समस्या समाधानका लागि पहल गर्नुस् : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी राष्ट्र भारतले बनाएको सीमा क्षेत्रका बाँध र तटबन्धका कारण नेपालले बर्सेनि ठूलो क्षति व्यहोर्नु परेको बताएकी छन् । प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री देउवासहित कांग्रेस, माओवादी केन्द्र र एमालेका शीर्ष नेतालाई शनिबार शीतलनिवासमा बोलाएरराष्ट्रपति भण्डारीले सिमा क्षेत्रमा रहेका बाँध र तटबन्धका बारेमा भारतसमक्ष कुरा राख्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह समेत गरेकी छन् । मैत्रीपूर्ण र कूटनीतिक ढंगबाट भारतसँग कुरा गरेर समस्याको हल गर्नुपर्ने भन्दै उनले हरेक वर्षको यो समस्या समाधानका लागि पहल गर्न आग्रह गरेकी हुन् । प्रधानमन्त्री देउवा यही भदौ ७ गते आफ्नो कार्यकालको पहिलो औपचारिक भ्रमणका लागि भारत जाने तयारीमा छन् । भेटमा राष्ट्रपति भण्डारीले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको उचित प्रबन्ध मिलाउन, प्राकृतिक प्रकोप न्यूनीकरण गर्न, अल्पकालीन र दीर्घकालीन रूपमा नदी प्रणालीलाई व्यवस्थित गर्न गम्भीर रूपमा सरकारको ध्यानाकर्षण गराएको जनाइएको छ । राष्ट्रपति भण्डारीले संविधान संशोधनका विषयमा पनि चासो व्यक्त गरेको बताइएको छ । बैठकमा प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता श्रेष्ठ उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित