५० लाख लिन बाबुले गरे ४ वर्षीया छोरीको हत्या

chhori marne bau

  काठमाडौं । आफ्नै बाबुले ४ वर्षीया छोरीको हत्या गरेका छन् भन्दा तपाईहरुलाई पत्यार नलाग्न सक्छ । तर, एक क्रुर बाबुले यस्तै गरेका छन् ।

रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेका हुन् । असार १७ गते घरमा सुतिरहेकै अवस्थामा हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा भेटिएको थियो ।

बिमाको रकम हात पार्न बाबुले आफ्नै ४ वर्षीया छोरीको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । यादवले छोरीको नाममा गरेको बिमा रकम हात पार्न आफूले हत्या गरेको स्वीकारी बयान प्रहरी सामु दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा छोरीको नाममा २५ लाखको जीवन बीमा गराएका रहेछन् । उनले एक किस्ता वापतको रकम बुझाएको पनि खुलेको छ । तर, पछि बीमितको मृत्यु भएको खण्डमा दोब्बर रकम पाउने आशमा उनले छोरीको हत्या गरेको बताएका छन् ।

प्रहरी अनुसन्धानमा बीमाको रकम निकाल्ने योजना अनुरुप नै उनले छोरीको बीमा गराएको खुलेको छ ।

राति आमासँगै सुतिरहेकी छोरीलाई बोकेर लगेको र नाक मुख थुनेर हत्या गरी पोखरीमा फालेको यादवले स्वीकारेका छन् । बीमा गरेको एक महिनाभित्र बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले यसो गरेको उनको बयान छ ।

 यादवलाई मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित