पाकिस्तानी प्रधानमन्त्रीको अमेरिका भ्रमणमा भारतको चासो

imran

   काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान तीन दिनका लागि अमेरिका भ्रमणमा गएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको भेटवार्ता मंगलबार हुने छ ।

अमेरिका भ्रमणमा इमरान खानसँगै पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवा पनि छन् ।

साउदी अरबका राजकुमार मोहम्मद बिल सलमानले गरेको पहलमा
ट्रम्प–इमरान भेटवार्ताको हुन लागेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम अखबार एक्सप्रेसले लेखेको छ–‘ इमरान खानको अमेरिकी यात्रा धेरै महिनादेखिको कूटनीतिक पहलको परिणाम हो ।

यसमा सबैभन्दा अहम् भूमिका साउदी अबरका राजकुमार एवम् साउदी राजगद्दीका हकदान मोहम्मद बिन सलमान (मबीएस)ले निर्वाह गरे ।’

मोहम्मद बिन सलमानले ट्रम्पका ज्वाइँमार्फत इमरान खानलाई भ्रमणको निम्तो पठाएका थिए । मोहम्मद बिन सलमान र इमरान खान निकटका साथी हुन् । अमेरिका भ्रमणबारे उनीहरुबीच छोटो समयमा धेरै कुराकानी भएको थियो ।

स्रोतलाई गोप्य राख्दै अखबार एक्सप्रेसले लेखेको छ–‘इमरान खान ट्रम्पसँग एक्लै भेटवार्ता गर्न चाहान्थे । तर, दुई देशबीचको खराब सम्बन्धका कारण अमेरिकी प्रशासन त्यसका लागि तयार थिएन ।

त्यसैले अमेरिकी प्रशासनलाई किनारा लगाएर ट्रम्पका ज्वाइँमार्फत् सीधै ट्रम्पसँग सम्वादको कोसिस भयो ।

त्यसका लागि साउदी अरबको सहयोग लिएर पाकिस्तानले गैर–परम्परागत तरिका अपनायो । अन्ततः मोहम्मद बिल सलमानले नै ट्रम्पका ज्वाइँमार्फत् इमरान खानलाई अमेरिकाको तर्फबाट भ्रमणको निम्तो पठाए ।’

यता, पाकिस्तानको कट्टर विरोधी भारतले भने इमरान खानको अमेरिका भ्रमणलाई चासो दिएको छ । इमरान खानको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा पाकिस्तानको भूमिमा सक्रिय आतंकवादी संगठन लश्कर–ए–तोयबाका प्रमुख हाफिज सइद पक्राउ परेका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने अर्को पत्रिका दुनियाका अनुसार आफिज सइदलाई गुजरानवालाबाट पाकिस्तानी सेनाले पक्राउ गरेको हो ।

उनलाई सात दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ । सन् २००८ मा भारतको मुम्बईमा भएको आक्रमणको प्रमुख योजनाकार भएको आरोप हाफिज सइदलाई लाग्दै आएको छ । – एजेन्सी

प्रतिक्रिया

सम्बन्धित