पूर्वएमाले र पूर्व माओवादीको छुट्टा छुट्टै बैठकले नेकपाभित्र तरंग
काठमाडौं । पूर्वएमालेले बालुवाटारमा शुक्रबार र शनिबार दुई दिन गोप्य बैठक गरेको तेस्रो दिन पूर्वमाओवादीका नेताहरूले पनि खुमलटारमा अलग बैठक गरेका छन् ।बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओली तथा सचिवालय सदस्यहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल सहभागी थिए।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आइतबार ललितपुरको खुमलटारस्थित निवासमा पूर्वमाओवादीका नेताहरूको बैठक राखेका हुन् ।
बैठकमा एमालेसँग भएको पार्टी एकीकरण र विभागहरूमा भएको भागबण्डाका बारेमा छलफल भएको एक नेताले बताए ।
खुमलटार बैठकले आफूहरूले पाएको विभागको नेतृत्वबारे मोटामोटी टुंगो लगाएको छ ।
पूर्वमाओवादी नेताहरूको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग प्रमुखको जिम्मेवारीमा बस्न सुझाव दिएको थियो । तर, श्रेष्ठले स्कुल विभाग नछोड्ने बताएका छन् ।
स्कुल विभागमा पूर्वएमालेका नेता ईश्वर पोखरेलले पनि दाबी गर्दै आएका छन् । स्रोतका अनुसार नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्कुल विभागको जिम्मेवारी पोखरेललाई दिने इच्छा जनाएका छन् ।
पोखरेलले ‘जनताको बहुदलीय जनवाद’लाई दमदार तरिकाले बचाउ गर्दै आएका छन् । जबजको बचाउ गर्ने नेतालाई कुनै पनि हालतमा स्कुल विभाग दिन नहुने पूर्वमाओवादी नेताहरूको खुमलटार बैठकमा सहमति भएको बुझिएको छ ।
पोखरेललाई रोक्न पूर्वमाओवादीले स्कुल विभागलाई पार्टी अध्यक्षहरूले नै राख्नुपर्ने प्रस्ताव समेत आएको छ ।
स्कुल विभागको टुंगो नलाग्दा नेकपाभित्रका पूर्वमाओवादी पक्षधरले आफ्नो भागमा परेको आर्थिक विभागमा कसलाई पठाउने भन्ने निधो गर्न सकेको छैन ।
पार्टीका दुई अध्यक्षबीच बारम्बार भइरहेका संवादमा महत्वपूर्ण छ विभागमध्ये संगठन, विदेश, स्कुल, पार्टी नीति तथा प्रतिष्ठान पूर्वएमाले तथा आर्थिक र प्रचार विभाग पूर्व माओवादी केन्द्रले लिने अनौपचारिक समझदारी बनेको थियो ।
नेकपाका ३२ विभागमध्ये १८ वटामा पूर्वएमाले र १४ मा पूर्वमाओवादीले नेतृत्व गर्दैछन् ।
प्रतिक्रिया