नेपाली जहाजका लागि चीनका थप ८ विमानस्थल खुला

nepal china

  काठमाडौं । नेपाली एयरलाइन्सले अब चीनका १५ विमानस्थलमा उडान गर्न पाउने भएका छन्। चीनसँगको द्वपक्षीय हवाई सम्झौता पुनरावलोकन भएसँगै ८ विमानस्थल नेपाली जहाजका लागि खुला गरिएको हो ।

चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो । यसअघि चीनका ७ वटा विमानस्थलमा मात्र उडान गर्न पाउने व्यवस्था थियो।

नयाँ व्यवस्थामा विमानस्थलको नाम तोकिएको छैन । सम्झौता अनुसार नेपाली एयरलाइन्सले उडान चाहेका विमानस्थलको अनुमति पाउने छन्।

दुबै देशका वायुसेवा कम्पनीले सातामा ७० उडान गर्न पाउने प्रावधानलाई लम्ब्याएर ९८ पुर्‍याइएको छ । तर बढेको २८ उडान चिनियाँ जहाजले काठमाडौंमा उडान थप्न पाउने छैनन् । यो उडान निर्माणाधिन भैरहवास्थित गौतमबुद्ध र पोखरा विमानस्थलका लागि हो ।

यसअघिका ७ विमानस्थललाई यथावत राखी अन्य ८ विमानस्थलमा भने नेपाली कम्पनीले रोजेको गन्तब्यलाई अनुमति दिने प्रतिवद्धता चीनले गरेको छ ।

द्धिपक्षीय वार्ताका क्रममा चीनले नेपाली कम्पनीलाई यथाशक्य उडान बिस्तारमा सहजिकरणको प्रतिवद्धतासमेत व्यक्त गरेको बताइएको छ ।

हाल पाँच चिनियाँ एयरलाइन्सले सातामा ४६ पटक काठमाडौं उडान गरिरहेका छन्। एयर चाइनाले छेन्दु–ल्हासा हुँदै काठमाडौं ३ र छेन्दु–काठमाडौं ७ उडान गरी सातामा १० उडान गर्छ।चाइना इस्टर्नले कुनमिङ(काठमाडौं रूटमा दैनिक २ उडान (सातामा १४) उडान गरिरहेको छ।

त्यस्तै, चाइना साउदर्नले पनि सातामा १४ उडान गर्छ। यसले ग्वाङजाउ-काठमाडौं उडान गर्छ । त्यस्तै ल्हासा ट्रान्जिट बनाएर छेन्दुबाट काठमाडौं उडान गर्ने सिँचुवान एयरलाइन्सले पनि सातामा चार उडान गर्छ । छेन्दु–काठमाडौं रूटमा उडान गर्ने तिब्बत एयरलाइन्सले सातामा चार उडान गर्छ।

तर नेपाली एयरलाइन्सहरूले चीनका कुनै पनि विमानस्थलमा नियमित उडानको अनुमति पाएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित