पिएसजीमा नेइमारको राम्रो शुरुवात, ‘फ्लप’ मिडफिडर बार्सिलोनामा
काठमाडौं : बार्सीलोना छाडेका ब्राजिलियन स्ट्राइकर नेइमार जेआरले आफू पेरिस सेन्ट जर्मेन (पीएसजी) मा गएपछि पहिले भन्दा सजीव महसुस गरेको टिप्पणी गरेका छन् । २५ वर्षे नेइमार कीर्तिमानी मूल्यमा र्सिलोनाबाट फ्रेन्च क्लब पीएसजी गएका छन् । आइतबार राति पीएसजीबाट डेब्यू गरेका नेइमारले भनेका छन्,–मानिसहरु सोच्छन् कि बार्सिलोना छाड्नु भनेको मर्नु हो । तर, भयो उल्टो । म सँधै भन्दा बढी सजीव छु । म खुसी छु र फुटबल त्यही हो । मात्र देश, शहर र टिम फेरिएको छ तर, फुटबल उस्तै छ ।’ आइतबार राति पिएसजीले जियनगुइनलाई ३–० ले हराउँदा नेइमारले तीनै गोलमा भूमिका निर्वाह गरे । सामान्यतः बायाँ साइडबाट खेल्ने नेइमारलाई प्रशिक्षक उनाइ एम्रेले मध्यक्षेत्रमा छिर्न स्वतन्त्रता दिएका थिए । पिएसजी गएसँगै नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बनेका छन् । नेइमारलाई पिएसजीले अहिलेसम्मकै महँगो २ सय २२ मिलियन युरोमा खरिद गरेको हो । बहुचर्चित नेइमार प्रकरणको टुंगो लगाउँदै पिएसजीले स्पेनिस क्लब बार्सिलोनाबाट २६ अर्बभन्दा बढी रुपैयाँमा नेइमारलाई खरिद गरेको थियो। विश्व फुटबलमा कु्नै पनि एउटै खेलाडीमाथि खर्च गरिएको यो अहिलेसम्मकै बढी रकम हो । यता, नेइमार बाहिरिएपछि बार्सिलोनाले एक समय टोटनहृयाममा रहेका ‘फ्लप’ मिडफिडर पाउलिन्होलाई भित्र्याएको छ । यी २९ वर्षीय ब्राजिलियन ४० मिलियन युरोमा चिनियाँ क्लब ग्वान्झाओबाट बार्सिलोना आएका हुन् । बार्सिलोनाले सोमबार पाउलिन्होलाई अनुबन्धित गरेको घोषणा गरेको छ । उनी मंगलबार बार्सिलोना आइपुग्नेछन् र त्यही दिन मेडिकलपछि सम्झौता हुनेछ । बुधबार उनको प्रिजेन्टेसन राखिएको बार्सिलोनाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
प्रतिक्रिया