पिआर होल्डर युवती देखाएर चार जनाबाट ६० लाख ठगी गर्ने कन्सलटेन्सी सञ्चालक प्रहरी खोरमा

pakrau

  काठमाडौं । पछिल्लो समय उच्च शिक्षाका लागि नेपालबाट अष्ट्रेलिया जाने विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ । नेपाली विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ अष्ट्रेलिया । उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरु ठगिएको समाचार त बेला बेला अइरहेकै छन् ।

कन्सलटेन्सीहरुले सम्पूर्ण सूचना नदिदा नेपाली विद्यार्थीहरु समस्यामा पर्ने गरेका छन् । गुणस्तरीय परामर्शको नाममा केही कन्सलटेन्सी सञ्चालकहरुले ठगी गर्दै आएको पनि यस अघि नखुलेका होेइनन् ।

तर, अहिले भने काठमाडौंको पुतलीसडकमा रहेको एक कन्सलटेन्सी सञ्चालकले भने पीआर होल्डर युवतीलाई नै प्रयोग गरी ठगी गरेको रहस्य खुलेको छ ।

पुतलीसडकस्थित क्वीन्सल्यान्ड कन्सल्टेन्सीका सञ्चालक मणि निरौलाले अस्ट्रेलियाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएकी एक युवतीलाई प्रयोग गर्दै चार जनाबाट ६० लाख ठगेका हुन् ।

मोरङ विराटनगरका ४० वर्षीय निरौलाले ति युवतीलाई प्रयोग गरेरठगी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि यो रहस्य खुलेको हो । प्रहरीले शुक्रबार राती निरौलालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले निरौलालाई पुतलीसडकबाट पक्राउ गरेको हो । निरौलाले तिनै युवतीलाई देखाएर अष्ट्रेलिया जाने सपना देखेका ४ जना युवाहरुबाट प्रतिव्यक्ति १५ लाखको दरले ६० लाख ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको सिंहदरबार बृत्तका प्रहरी प्रमुख डिएसपी कौशलकुमार बुढाथोकीले बताए ।

डिएसपी बुढाथोकीले माइन्यूज नेपालसँग कुरा गर्दै भने–‘पक्राउ परेका निरौलामाथि थप छानविन भइरहेको छ । निरौलाले कुनै युवतीलाई देखाएर आफै ठगी गरेको हुँदा अब केही दिनमा नै निरौलामाथि ठगीमा मुद्दा दर्ता हुन्छ ।’

मणिविरुद्ध २२ लाख ५० हजारको चेक बाउन्सको मुद्दा पनि सिंहदरबार वृत्तमा दर्ता भएको थियो । मुद्दा दर्ता भएको कारण प्रहरीले उसलाई खोजिरहेको थियो ।

मणि कन्सलटेन्सीहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को सदस्य समेत हुन् । तर, यस विषयमा इक्यानले भने कुनै प्रतिकृया जनाएको छैन । यद्यपी केही कन्सलटेन्सीका सञ्चालकहरु भने निरौलालाई बचाउन चलखेल गरिरहेको बुझिएको छ ।

यदि निरौला दोषी प्रमाणित भए १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित