शिर्ष नेताहरुको गल्तीले कांग्रेस पराजित

निर्मल शर्मा /प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम नतिजा आउँदा नेपाली कांग्रेसका शुभेच्छुकहरूका लागि निरासाजनक छ । तर, कांग्रेसले २०७० सालमा पाएको भोटभन्दा यस पटक धेरै पाएको छ । मत धेरै पाए पनि सांसद संख्या भने न्यून छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३२.८ प्रतिशत मत पाएको थियो । मंसिर १० र २१ गते सम्पन्न भएको निर्वाचनमा कांग्रेसले ३४.४ प्रतिशत मत पाएको छ । अघिल्लो पटकभन्दा कांग्रेसले मत धेरै पाए पनि प्रत्यक्ष तर्फ सिटको संख्या कुरा गर्ने हो भने कांग्रेस पार्टी खुच्चिएर २३ सिटमा झरेको छ । जनतामा नेपाली कांग्रेस लोकप्रिय छ ।

त्यो लोकप्रियतालाई कांग्रेसले मतदातामा भजाउन सकेन । फलस्वरुप प्रत्यक्षमा २३ सिटमा झनु परेको छ । माओवादीको १७ बाट घटेर १४.३ प्रतिशतमा मत झरेको छ । एमालेको ३३ बाट बढेर ३६ प्रतिशत भएको छ । यो मत संख्यालाई नेपाली कांग्रेसले सकारात्मक रुपमा लिनुपर्छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले कांग्रेस पराजित हुनुमा बाम गठबन्धन मात्रै बाधक नरहेको बताउँछन् ।

‘कांग्रेस कमजोर छैन’, उनले भने,‘कांग्रेसले पाएको भोट कुनै पनि हालतमा कम छैन । तर, न्यूटल भोट कांग्रेसका उम्मेदवारले पाउन सकेनन् । फलस्वरुप कांग्रेसले जित्न सकेन ।’कांग्रेसका नेता खाँणले जे भने पनि कांग्रेसलाई बाम गठबन्धनले पराजित गरेको छ । तराईमा पनि नेपाली कांग्रेस पराजित भएको छ । यसको कारण कांग्रेस नेतृत्व नै हो । कांग्रेसका नेताहरूको सत्ता मोह, आफ्नालाई भन्दा बाहिरकालाई कांग्रेस नेदेख्ने, जिल्ला र आफ्नो क्षेत्र नघुम्ने, अवसर पाइँदा नातागोतालाई मात्रै दिने, भ्रष्टाचारमा लिप्त हुने आदि जस्ता कारणले कांग्रेस पराजित हुन पुगेको छ । कांग्रेसको पक्षमा मतदाता हुँदाहुँदै पनि नराम्रोसँग पराजय भोग्नु पर्ने अवस्था आउँदा त्यसलाई नेतृत्वले जति नै बचाउ गरे पनि आन्तरिक गुटको राजनीतिले नै कांग्रेस हारेको हो । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महत, खुमबहादुर खड्का, डा.शशांक कोइराला लगायतका नेताहरूले कांग्रेस हारको जिम्मेवारी लिनुपर्छ । उनीहरू नै कांग्रेस हराउने असली पात्र हुन् । मन्त्रीदेखि राजनीतिक नियुक्ति र विभिन्न अवसर उनीहरूले आफ्नालाई मात्रै दिएका छन् । उनीहरूले कांग्रेसका कार्यकर्ताहरूसँग यतिसम्म अन्याय गरेका छन् कि आफ्ना पत्नी, सम्बधी, छोराछोरी, मेनपावर व्यवसायी, व्यापारी, ठेकेदार, तस्कर, गुण्डा आदिलाई टिकट दिएर ठूलो गल्ती गरेका छन् ।

बालकृष्ण खाँण, खुमबहादुर खड्कासहितका नेताहरूले आफ्ना पत्नीलाई समानुपातिक सूचीमा अग्रस्थानमा राखेका छन् । स्वयं बालकृष्ण खाँण पनि समानुपातिकमा बसेका छन् । यसरी आफ्ना लागि मात्रै नेताहरूले राजनीति गर्ने हो भने उनीहरू नहारेर को हार्छ निर्वाचनमा ? कैलालीमा शेरबहादुर देउवाले आफ्नी पत्नीलाई प्रत्यक्षमा टिकट दिएर पनि त्यहाँका कांग्रेस कार्यकर्ताको मन दुखाए । जसको फलस्वरुप आरजु राणाले निर्वाचन हारिन् । नेपाली कांग्रेसका पहिलो लहरका नेताहरूले सबैभन्दा पहिला आफूलाई सच्चाउन जरुरी छ । होइन भने कांग्रेस अबको पाँच वर्षपछि अहिले कै परिणाम भोग्ने गरेर बस्नुपर्छ । पहिलो पुस्ताले अब दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरणको बाटो लिनै पर्ने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित