महराको थुनछेक बहस हुँदै
काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको आज थुनछेक बहस सुरु हुँदै छ । सम्भवतः आजै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले महरालाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने बताए ।
धेरै वकिलले थुनछेक बहस गरे समय लाग्ने नत्र आजै टुंगो लाग्ने छ ।
संसद सचिवालयकी एक कर्मचारी (रोशनी शाही) ले यौन दुर्व्यवहारको आरोप लगाएपछि महरा १९ असोजमा पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो ।
तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि समय मागेपछि अदालतले पछिल्लो पटक ७ कात्तिकमा थप सात दिन म्याद थपिदिएको थियो ।
असोज १३ गते संसदकै महिला कर्मचारी रोशनी शाहीले बलात्कार गरेको आरोप लगाएपछि महराले १४ नै राजीनामा दिनुपरेको थियो।
प्रतिक्रिया