बगदादी मारिएको पुष्टि, अल हाशमी नयाँ नेता
काठमाडौं । इस्लामिक स्टेट (आईएस)ले आफ्नो नेता अबु बक्र अल बगदादी मारिएको पुष्टि गर्दै नयाँ नेता चुनेको छ ।
बगदादी मारिएपछि आईएसले अबु इब्राहिम अल–हाशमीलाई नयाँ नेता चुनेको हो । २७ अक्टुबरमा अमेरिकी सेनाले सिरियामा गरेको कारबाहीमा बगदादी मारिएका थिए ।
इस्लामिक स्टेटले एक अडियो सन्देश जारी गर्दै आफ्ना प्रवक्ता अबु अल हसन अल मुहाजिर पनि मारिएको पुष्टि गरेको छ । उनको मृत्यु पनि अमेरिकी कुर्द बलको सैन्य अपरेशनमा भएको जनाइएको छ ।
मुहाजिर मारिएपछि अबु हम्जा अल कुरैशी नयाँ प्रवक्ता चुनिएका छन् । उनले आईएसका नयाँ नेता अबु इब्राहिम अल–हाशमीसँग हात मजबुत बनाउन मुस्लिम समुदायलाई आह्वान गरेका छन् ।
बीबीसीका अनुसार अबु इब्राहिम अल–हाशमी अमेरिकी सुरक्षा बलका लागि परिचित नाम होइन । इस्लामिक स्टेटले पनि आफ्नो नयाँ नेतृत्वको बारेमा धेरै जानकारी दिएको छैन ।
उनको तस्वीर पनि सार्वजनिक गरिएको छैन । तर इस्लामिक स्टेटले भनेको छ, अल–हाशमी पुरानो जिहादी लडाकु हुन् र उनी पश्चिमाविरुद्ध धेरै लडाइँ लडिसकेका छन् ।
आईएस लडाकुलाई विद्रोहीहरुको समूहबाट पैदा भएको सबैभन्दा हिंस्रक आतंकवादी संगठन हो ।
प्रतिक्रिया