दोस्रो डायलासिसपछि बालुवाटार फर्कदै गर्दा प्रधानमन्त्रीले भने– म ठिक छु
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा दुई पटक डायलासिस गरेर डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ठिक भएको बताएका छन् ।
बुधबार अस्पताल भर्ना भएका ओलीको बुधबार र विहिबार दुई पटक डायलासिस गरिएको थियो । बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटार पुगेका उनले अस्पतालबाट बाहिरिने क्रममा ‘आई एम फिट’ भन्ने प्रतिक्रिया दिएका थिए ।
प्रधानमन्त्री निजी सचिवालयले नियमित चेकजाँच मात्र भएको बताए पनि उनको दुई पटकसम्म डायलासिस गर्नु परेको थियो ।
बुधबार दिउँसो नै प्रधानमन्त्रीको आकस्मिक रुपमा डायलासिस गरिएको थियो भने बिहीबार दिउँसोे दोस्रो पटक डायलासिस भएको थियो ।
तर, अस्पताल र बालुवाटराले त्यसबेला पनि यसबारे कुनै जानकारी दिएको थिएन । यद्यपी प्रधानमन्त्री ओलीलाई भेटेर फर्किने क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने सञ्चारकर्मीहरुसँग कुरा गर्दै डायलासिस भएको जानकारी गराएका थिए ।
ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उनको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्यान्डमा लामो उपचारपछि निको भएका उनी त्यसपछि नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए ।
प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरियो ।
२० भदौमा स्वदेश फर्किएका उनी पाँच दिनपछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्लाज्माफेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर निकालियो । २ कात्तिकमा फेरि अस्पताल पुगे । ग्राण्डी अस्पतालमा दिनभर बसेर फर्किएका थिए तर निजी चिकित्सक डा। सिंहले नियमित स्वास्थ्य जाँच मात्र भएको बताएकी थिइन् ।
प्रतिक्रिया