बस्नेत र ढकाल मिले भक्तपुरको मुहार फेरिन्छ : नेपाल

nepal_2

  भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अबको एकमात्र बाटो बेरोजगारी अन्त्य भए मात्र ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा सार्थक हुने भन्दै बेरोजगारी अन्त्यका लागि आर्थिक विकासमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।

भक्तपुरको सरस्वती खेलमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने–‘अब सिंगो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता छ ।’

भक्तपुर क्षेत्रनम्बर १ (क)मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार डीपी ढकाललाई विजयी गराउन पनि उनले अपिल गरे ।

नेपालले शिक्षा, स्वास्थ्य, रोजगारको साथमा समृद्ध भक्तपुर र सुखी भक्तपुरका जनता बनाउन नेकपाको अर्को विकल्प नभएको बताए ।

ढकालले निर्वाचित भएसँगै तीनै तहको सरकारलाई समन्वयनात्मक भूमिका निर्वाह गर्न सक्ने भन्दै नेता नेपालले भक्तपुरको विकासमा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत र ढकालले भक्तपुरको मुहारमा व्यापक मात्रामा परिवर्तन गराउने दावी गरे ।

कार्यक्रमा बोल्दै नेकपाका प्रभावशाली युवा नेता एवम् सांसद महेश बस्नेले ढकालको जित सुनिश्चित भैसकेको दावी गरे ।

उनले भने–‘उम्मेदवार ढकाल भक्तपुरले रोजेको जनताले खोजेको व्यक्ति हुनुहुन्छ । भक्तपुरको विकास र समृद्धि तथा जनताको चाहना, आवश्यकतालाई पुरा गर्न उहाँ (ढकाल) र म सदैब सँगै सहयात्री भई भक्तपुरको मुहार फेर्न लाग्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । त्यसैले ढकाललाई निर्वाचित गराउन आग्रह गर्दछु ।’

कार्यक्रम अघि घरदैलो कार्यक्रम पनि आयोजना गरिएको थिया । घरदैलो कार्यक्रममा बरिष्ठ नेता नेपाल सहित सांसद बस्नेत, प्रदेश सांसद शशी जंग थापा, उम्मेदवार ढकाल, नेकपाका इन्चार्ज दिपिल प्रजापति, सहइन्चार्ज तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलगायतका नेकपाका नेता तथा कार्यकर्ता र स्थानीयवासीको व्यापक सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित