फरार भूमाफिया नेताद्धारा डिआईजीमाथि नै धम्की

bhumafiaझापा । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी) ले बालुवाटार भाग–२ अर्थात झापा घोटला काण्डको अनुसन्धान गरिरहेको बेला किर्ते गरी जग्गा हत्याउने गिरोहका नाइके गगन पुरीले छानविन गर्ने प्रहरीमाथि धम्की दिन थालेका छन् ।

 प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकस्थित रतुवा खोलाको बगरबाट उकास गरिएको अर्बौं मूल्य पर्ने झण्डै ५० विगाह सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा किनबेच गर्ने पुरीमाथि प्रहरीले छानविन गर्न थालेपछि फरार रहेका उनले उल्टै प्रहरीमाथि नै धम्की दिएका हुन् ।

 सिआईबीले झापा प्रहरीसँग समन्वय गरी जग्गा घोटला प्रकरणमा अनुसन्धान गरिरहेको छ । झण्डै पाँच अर्ब मूल्यको जग्गा हत्याउने पुरीको घरमा प्रहरी टोलीले खानतलासी गरेसँगै उनी फरार भएका छन् । पक्राउ पुर्जी जारी भएसँगै फरार भएका पुरीले समाजिक सञ्जालमार्फत सिआईबी प्रमुख डिआईजी निरज शाही, १ नम्बर प्रदेश प्रमुख डिआईजी ठाकुर ज्ञवाली, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दिनेश मैनाली, डिएसपी महेन्द्र श्रेष्ठ र इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी विजयराज पण्डितलाई फोन नउठाएको भन्दै धम्की दिएका हुन् । पुरीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरी अधिकारीहरुलाई ‘राजनीति गर्ने हो ?’ भन्दै धम्किपूर्ण प्रश्न गरेका छन् । प्रहरी स्रोतका अनुसार सिक्किम र पश्चिम बंगालका विभिन्न शहरमा बसेर उनले प्रहरी अधिकारीहरुलाई धम्की दिएका हुन् ।

 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १ नम्बर प्रदेश कमिटी सदस्य समेत रहेका पुरी तत्कालिन माओवादी केन्द्रका झापा ७ नम्बर क्षेत्रीय इन्चार्ज समेत हुन् । उनी तत्कालिन माओवादीको तर्फबाट दमक नगरपालिकामा मेयरमा उठेर पराजित भएका हुन् । माओवादीमा हुँदा नेपाली कांग्रेससँग मोर्चाबन्दी गर्दै पुरीले दमक–रवी सडक उपभोक्ता समिति, दमक खानेपानी उपभोक्ता समिति र दमक उद्योग बाणिज्य महासंघमा एमाले पक्ष उम्मेदवारलाई हराएका थिए ।

 सिआईबीले अनुसन्धान गरिरहेको पुरीको दुईवटा नागरिकताको विषयमा पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । उनले गगन पुरी र रेवतराज पुरीको नाममा दुईवटा नागरिकता बनाएको पाइएको छ । दमक बालुवाटार जग्गा प्रकरणका मुख्य नाइके पुरीले सामाजिक सञ्जालमार्फत धम्की दिंदा समेत एक नम्बर प्रदेशका डिआईजी ज्ञवाली र सिआईवी प्रमुख शाहीले अहिलेसम्म पनि उनलाई पक्राउ गर्न नसक्नुलाई प्रहरीको कमजोरीको रुपमा लिइएको छ ।

 त्यसो त उक्त जग्गा प्रकरणमा नेकपाका अन्य नेताहरु पनि संलग्न रहेको आशंका गरिदै आएको छ । जसका कारण प्रहरीले पुरीलाई पक्राउ नगरी अनुसन्धानलाई कमजोर बनाउन खोजेको हो कि भन्ने शंका पनि पैदा भएको छ ।

 पूर्व माओवादी रहेका पुरीले आफू गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नजिकको मान्छे भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफूलाई छुन नसक्ने भन्दै आएको पुरी निकट स्रोत बताउँछ । पुरीले दमक–८ बालुवाटारको जग्गालाई व्यक्तिको नाममा पास गराउन सरकारी छाप र हस्ताक्षर किर्ते गरेका थिए । पथरी शनिश्चरे –९ मोरङ्गका ओमप्रकाश पौडेललाई प्रयोग गरी पुरीले उक्त जग्गा हडप्न खोजेको अनुसन्धानमा खुलिसकेको छ । पौडेल भने पक्राउ परिसकेका छन् । (यूनाइटेड पोस्ट साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित