एक्सपर्टबाट विद्यार्थीले धेरै जान्ने र बुझ्ने अवसर पाउँछन्

आर्थिक वर्ष २०७३/०७४ मा मात्र ५० हजार भन्दा बढि नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश गएका छन् । यो वर्ष शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिनेको संख्या ५० हजार नाघेको हो । आघिल्लो वर्ष ३२ हजार ४८९ नेपाली बिद्यार्थीले बैदेशिक अध्ययनका लागि आवेदन दिएकोमा यस वर्ष ५० हजार ६५९ बिद्यार्थीले नो अब्जेसन लेटर लिए । ति मध्ये २४ हजार २३३ बिद्यार्थीले अष्ट्रेलियाका लागि आवेदन दिएका छन् । आफूले रोजेको विषय अध्ययन गर्न नपाउनु, काम गर्दै पढ्ने वातावरण नहुनु, विश्वविद्यालयहरुमा राजनीति बढि हुनु, पढाइपश्चात कामको ग्यारेन्टी नहुनु जस्ता कारणलाई देखाउँदै नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश गइरहेका छन् । पछिल्लो समय उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरुको पहिलो रोजाई बेनको छ अष्ट्रेलिया । अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त शिक्षा, पारिवारिक वातावरण, काम गर्दै पढ्ने अवसरलगायतका कारण नेपाली विद्यार्थीको पहिलो रोजाई अष्ट्रेलिया बनेको बताउनुहुन्छ एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका जनरल मेनेजर जयराम अर्याल । काठमाडौंको भृकुटीमण्डमा साउन ५ बाट शुरु हुने इक्यान शैक्षिक मेलाको माध्यमबाट एक्सपर्टले विद्यार्थी तथा अभिभावकहरुलाई अष्ट्रेलियन शैक्षिक अवस्था, आर्थिक अवस्था, त्यहाँको वातावरण, विद्यार्थीहरुको लगानी र भविश्यको बारेमा पूर्ण जानकारी गराउँदै छ । चार दिन सम्म चल्ने मेलामा अष्ट्रेलियन शैक्षिक संस्थाका प्रतिनिधिहरुको पनि सहभागित रहने मेनेजर अर्याल बताउनु हुन्छ । नेपाली विद्यार्थीको रोजाई, अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको अवस्था, अष्ट्रेलियन हाई कमिसनले परिवर्तन गरेको नीति नियम, कन्सलटेन्सीहरुको अवस्था तथा शैक्षिक मेलाका विषयमा केन्द्रित भएर यूनाइटेड पोष्टका लागि मेनेजर अर्यालसँग कुमार भण्डारीले गरेको कुराकानी :

जयराम अर्याल, जनरल मेनेजर एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रा.लि.

० उच्च शिक्षाका लागि नेपालबाट विदेशिने विद्यार्थीको संख्या बढिरहेकै छ है ? – हो, नेपाली विद्यार्थीहरु विदेश जाने क्रम पछिल्लो समय दिन प्रतिदिन बढिरहेकै छ ।

० विदेश जानेको संख्या किन बढेको होला ? – मलाई के लाग्छ भने नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जान खोज्नुका दुई वटा कारणहरु रहेका छन् । एउटा भनेको नेपालमा आफै कमाएर आफै पढ्न सक्ने वातावरण नहुनु । अष्ट्रेलियामा पढाई पश्चात आधिकारिक रुपमा दुई वर्ष सम्म काम गर्ने अवसर पाउनु नै हो जस्तो लाग्छ । फेरि अर्को कुरा अष्ट्रेलियामा चाहिं पढाई सक्किने वित्तिकै त्यहाँ बस्न पाईंदैन, त्यसैले विद्यार्थीहरु कि त पीआर अप्लाई गर्नु प¥यो कि त पिएसडब्लु नै । त्यसैले त्यहाँ बस्दा विद्यार्थीको ग्याप पनि नहुने भएकाले पढाई पनि सँगसँगै लैजानु पर्ने हुन्छ । जसकारण पढाई पनि हुने र काम पनि हुने भएकाले विद्याथीको रोजाई विदेश हुने गरेको मैले पाएको छु ।

० त्यसो भए नेपालमा चाहिं कुनै अवसर नै छैन भन्न खोज्नु भएको हो ? – होइन, मैले नेपालमा अवसर नै छैन भन्न खोजेको पक्कै होइन । नेपालमा भन्दा विदेशमा केही बढि मात्र भन्न खोजेको हुँ । नेपालमा पढाई सँगसँगै कमाउने वातावरण छैन मात्र भन्न खोजेको हो । मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने म हरेक विद्यार्थीलाई पढाई र अनुभव बोकेर पुनः नेपाल नै फर्कन सल्लाह दिन्छु ।

० पहिले र अहिलेमा अष्ट्रेलिया जाने विद्यार्थीमा कत्तिको फरक पाउनु भएको छ ? – म सन् २००३ देखि नेपालमा नै बसेर काम गरिरहेको छु । विद्यार्थीहरुको करिअर काउन्सिलिङ नै हाम्रो मुख्य काम हो । त्यस बेला र अहिलेको कुरा गर्नु हुन्छ भने आकाश जमिन नै फरक छ । मैले अघि पनि भने अहिले अष्ट्रेलिया जाने विद्यार्थीको संख्या एकदमै बढेको छ ।

० त्यसो हो भने नेपाली विद्यार्थीको पहिलो रोजाई अष्ट्रेलिया नै हो त ? – पक्कै पनि, नेपाली विद्यार्थीको पहिलो रोजाई अष्ट्रेलिया नै हो । यस वर्षको तथ्यांकलाई हेर्ने हो भने शिक्षा मन्त्रालयबाट नो अब्जेसन लेटर लिने ५० हजार ६५९ बिद्यार्थीमध्ये २४ हजार २३३ बिद्यार्थीले अष्ट्रेलियाका लागि आवेदन दिएका छन् । यसले पनि के देखाउँछ भने नेपाली विद्यार्थीहरुको पहिलो रोजाई अष्ट्रेलिया नै हो ।

० किन होला ? – मैले अघि पनि भने नि । अन्तर्राष्ट्रिय स्तरको शिक्षा सँगसँगै उज्ज्वल भविश्य कै कारण नेपाली विद्यार्थीहरुले अष्ट्रेलियालाई रोजेका हुन् । दुई वटा कारणले गर्दा नेपाली विद्यार्थीहरुले अष्ट्रेलिया रोजेका हुन जस्तो लाग्छ मलाई । पहिलो कारण नेपालमा आफुले रोजेको विषयमा अध्ययन गर्न नपाउनु, काम गर्दै पढ्ने वातावरण नहुनु, समयमै कोर्ष नसकिनु, समयानुकुल कोर्ष परिवर्तन हुन नसक्नु, विश्वविद्यालयहरुमा राजनीति बढि हुनु नै हो भने दोस्रो कारण अष्ट्रेलियामा अन्तर्राष्ट्रिय स्तरको शिक्षा पाउनु, काम गर्दै पढ्ने अवसर, पढाई सकेपछि पोष्ट स्टडी भिसा, शिक्षा शुल्कको सुरक्षा, नेपाली विद्यार्थीहरुको संख्या धेरै भएकाले विद्यार्थीहरुले परिवारसँगै बसेर पढेको अनुभव, आर्थिक अवस्था हेरेर कोर्ष र स्थान रोज्न पाउनु नै हुन् ।

० प्रसंग बदलौं, आजबाट शुरु हुने शैक्षिक मेलामा तपाईहरु सहभागिता कस्तो हुनेछ ? – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा हुन लागेको चार दिने शैक्षिक मेलामा हाम्रो पनि सहभागिता रहने छ । पहिलेको मेलामा भन्दा अहिले हामी विल्कुलै फरक भएका छौं । फरक यो अर्थमा छौं कि हामीसँग अहिले पहिलेको भन्दा धेरै अष्ट्रेलियन शैक्षिक संस्थाहरु आवद्ध छन् । त्यसैले पनि हामीले मेलामा विद्यार्थीलाई अष्ट्रेलियाका अधिकांश शैक्षिक संस्थाको बारेमा पूर्ण जानकारी प्रदान गर्न सक्छौं । भर्खरै मात्र हामीले झण्डै १० वटा विश्वविद्यालयसँग सहकार्य गरेका छौं । तिनका बारेमा पनि विद्यार्थीले जान्ने मौका पाउने छन् ।

० अहिलेको अवस्थामा एक्सपर्टसँग कति शैक्षिक संस्थाहरु आवद्ध छन् त ? – हामीसँग अहिले २५ भन्दा बढि शैक्षिक संस्थाहरु आवद्ध छन् । हामीले ति सबै शैक्षिक संस्थाका बारेमा पूर्ण जानकारी गराएर विद्यार्थीहरुलाई अध्ययनका लागि सल्लाह र सुझाव दिन सक्छौं ।

० हरेक वर्ष अयोजना हुने मेलाको माध्यमबाट विद्यार्थीहरुलाई के फाइदा हुन्छ ? – विद्यार्थीलाई त धेरै नै फाइदा हुन्छ । हामीले प्रदान गर्ने सेवा अन्य संस्थाले प्रदान गरेका हुँदैनन् र अन्य संस्थाले दिंदै आएका सेवा हामीले पनि नदिएको हुन सक्छौं । यसअर्थमा विद्यार्थीले एउटै छानामुनी सम्पूर्ण विषयमा जानकारी लिन सक्छन् । जस्तैः हामी पुतलीसडकमा छौं भने जापानका लागि काम गर्ने कन्सलटेन्सी बानेश्वरमा छ । अब विद्यार्थीलाई अष्ट्रेलिया र जापानको बारेमा बुझ्नु छ भने त उ पुतलीसडक र बानेश्वर पुग्नुप¥यो नि । तर, शैक्षिक मेलामा जाँदा विद्यार्थीले त्यहि नै अष्ट्रेलिया र जापान मात्रै होइन् अन्य सयौं देशको शैक्षिक अवस्थाको बारेमा जान्न सक्छन् ।

० मेलामा एक्सपर्टले चाहिं के नयाँ कुरा दिंदैछ ? – मैले अघि पनि भने हामीसँग भर्खरै मात्र अवद्ध भएका झण्डै १० वटा शैक्षिक संस्थाको बारेमा पूर्ण जानकारी प्रदान गर्नेछौं र विद्यार्थीहरुले अष्ट्रेलियन शैक्षिक संस्थाका केहि प्रतिनिधिलाई पनि भेट्ने अवसर पाउने छन् । जसकारण विद्यार्थीहरुलाई उनीहरुले नै पूर्ण जानकारी प्रदान गर्ने हुँदा विद्यार्थीहरुमा कुनै पनि कन्फ्युज रहँदैन । अर्को कुरा भनेको बजारमा अष्ट्रेलियाका लागि नोभेम्भर इन्टेक हुँदैन भन्ने हल्ला फैलाइएको छ । त्यसको बारेमा पनि हामीले जानकारी गराउँछौं । र, अष्ट्रेलियन हाई कमीसनले परिवर्तन गरेका नीति नियमका बारेमा जानकारी गराउँछौं ।

० चार दिन सम्म चल्ने मेलामा विद्यार्थीहरु एक्सपर्टमा किन आउने त ? – हामीले विद्यार्थीलाई अष्ट्रेलिया पठाउने मात्र होइन क्या । उनीहरुलाई हामी करिअर काउन्सिलिङ गर्छौं । तपाईले यो विषय पढ्नु भएको छ र लक्ष्य यो छ भने अब तपाईले यो विषय लिएर यति वर्ष नेपालमा नै अध्ययन गर्नुपर्छ र अनिमात्र विदेशको लागि अप्लाई गर्नुभयो भने तपाई सफल हुनुहुनेछ भन्ने सल्लाह पनि प्रदान गर्छौ नि त । विद्यार्थीले कुन–कुन रिक्वायरमेन्ट पूरा गर्दा कुन–कुन अवसर पाउँछन् भन्ने पनि हामीले जानकारी गराउँछौं । त्यसैले विद्यार्थीहरु एक्सपर्टको स्टलमा प्रवेश गरे भने धेरै नै जान्ने र बुझ्ने अवसर पाउँछन् ।

० एउटा नयाँ विद्यार्थीले एक्सपर्ट नै ठिक हो भन्ने कसरी पत्ता लगाउने त ? – एकदमै राम्रो प्रश्न गर्नुभयो । सबैभन्दा पहिले त कोही विद्यार्थी अध्ययनका लागि विदेश जान खोज्छ भने उसले राम्रो शैक्षिक परामर्श संस्था रोज्नु पर्ने हुन्छ । त्यसका लागि परामर्श प्रदान गर्ने संस्थाहरुको बारेमा बुझ्नु आवश्यक छन् । जुन संस्थाको माध्यमबाट आफू विदेश जान लागेको हो त्यो संस्था कस्तो हो, त्यसमा परामर्श दिने व्यक्तिहरु आधिकारिक हुन् वा होइनन्, मान्यताप्राप्त संस्था हो कि होइन्, उनीहरु एक्सपर्टिज हुन् वा होइनन्, त्यसको इतिहास, त्यसले गुणस्तरिय शैक्षिक परामर्श दिन सक्छ कि सक्दैन भन्ने विषयमा बुझ्न आवश्यक छ । अब एक्सपर्टको कुरा गर्ने हो भने विद्यार्थीहरुलाई विश्वास दिलाउने आधारहरु हामीसँग धेरै नै छन् । हामी ढाँटेर र छलेर कुनै पनि काम गर्दैनौं । विद्यार्थीहरुलाई सम्पूर्ण जानकारी गराउँछौं । उनीहरुको इच्छा अनुसारको शैक्षिक संस्थामा पढ्ने र फि तिर्ने अवस्था नभएमा त्यसको विकल्पको बारेमा पनि जानकारी गराउँछौं । हामी सन् २००३ देखि यहि काम गरिरहेका छौं । आजसम्म कुनै पनि विद्यार्थीले अष्ट्रेलियामा पुगेर समस्या भोग्नु परेको छैन । हामी अष्ट्रेलियाका मुख्य–मुख्य शहरहरुमा रहेर विद्यार्थीहरुको हरेक समस्याको समाधानका लागि काम गरिरहेका छौं । अर्को कुरा एक्सपर्ट भनेको अष्ट्रेलियन एजुकेशनमा विशेषज्ञता हासिल गरेको कन्सलटेन्सी हो । सोलुसिटर लयर, छ जना रजिष्टर माइग्रेसन एजेन्ट, आठ जना क्यूइएसी सर्टिफाई काउन्सिलर, चार्टर्ड एकाउन्टेन्ट विथ ट्याक्स एजेन्ट, कन्सलटेन्सीका सम्बन्धमा तालिमप्राप्त दक्ष जनशक्ति र कन्सलटेन्सी क्षेत्रका विज्ञहरुद्धारा एक्सपर्ट सञ्चालित छ । त्यसैले पनि विद्यार्थीहरुले हामीमाथि विश्वास गरिनै रहनु भएको छ । हामी अष्ट्रेलियमा रहेर हरेक विद्यार्थीको अभिभावक बनेर सहयोग गरिरहेका पनि छौं ।

० मेलामा आउने विद्यार्थीहरुलाई के भन्नुहुन्छ ? – चार दिन सम्म चल्ने मेलामा म विद्यार्थीहरुलाई समय मिल्छ भने चारै दिन आउन सल्लाह दिन्छु । जस्तैः एक्सपर्टकै कुरा गर्ने हो भने चार दिनमा अष्ट्रेलियाका फरक–फरक शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने हुँदा विद्यार्थीहरुले चारै दिन फरक–फरक शैक्षिक संस्थाको बारेमा जान्ने अवसर पाउँछन् । अर्को कुरा म विद्यार्थीहरुलाई के जानकारी गराउन चाहन्छु भने हामीले अगस्ट १५ मा कम्तिमा पनि १५ वटा अष्ट्रेलियन शैक्षिक संस्थाका प्रतिनिधिहरु नेपालमा ल्याएर नेपाली विद्यार्थीहरुसँग कुराकानी गर्ने अवसर प्रदान गर्ने छौं । जसबाट विद्यार्थीहरुले अष्ट्रेलियन शैक्षिक संस्थाका बारेमा फस्ट ह्याण्ड इन्फरमेसन प्राप्त गर्नेछन् ।

० कतिपय विद्यार्थीहरु त फेक डकुमेन्ट बनाएर जान्छु पनि भन्छन् होला नि ? – आउँछन्, कतिपय विद्यार्थीहरु त्यस्ता पनि हुन्छन् । विवाह गरेको भन्दै डिपेन्डेन्ट भिसामा जान खोज्नेको संख्या बढि छ । तर, हामी उनीहरुलाई विवाह नै गर्नुहुन्छ भने दुई वर्ष नेपालमा नै पढ्नुस् । साँच्चिकै विवाह नै गर्नुस्, अनि जानुस् । भनेर सल्लाह दिन्छौं । यदि अष्ट्रेलिया जानका लागि मात्रै विवाह गर्न खोजेको हो भने उनीहरु फर्केर नै आउँदैनन् भने साँच्चिकै उनीहरुको इच्छा नै त्यहि हो, विवाह नै गर्ने हो भने पुनः आफू सक्षम भएर आउँछन् । एक्सपर्टले त्यस्तो डकुमेन्ट तयार गर्ने विद्यार्थीलाई कहिल्यै पनि सपोर्ट गरेको छैन र गर्दैन पनि ।

० नेपालको शैक्षिक अवस्था चाहिं कस्तो पाउनु भएको छ ? – मैले अध्ययन गर्दाको बेला र अहिलेको कुरा गर्ने हो भने धेरै नै परिवर्तन भएको पाएको छु । हाम्रो पालामा दुई वर्षे विविएस, दुई वर्षे एमए थियो भने अहिले विविएस चार वर्षे पुगेको छ । विविए अध्ययन शुरु भएको छ, प्राविधिक शिक्षा पनि शुरु भएका छन् । यस्ता धेरै परिवर्तनहरु भएका छन् । यो राम्रो पक्ष हो ।

० अष्ट्रेलियाको पछिल्लो अवस्था के छ ? – अष्ट्रेलियन सरकारले एसएसभिएफ लागु गरेपछि नेपाली विद्यार्थीहरुलाई केही सहज पनि भएको छ भने कतिपय अवस्थामा अप्ठेरा अवस्था पनि श्रृजना भएका छन् । पछिल्लो समय अष्ट्रेलियन शैक्षिक संस्थाहरुले रिक्वायरमेन्ट केही बढाएको अवस्था छ । छोटकरीमा भन्नु पर्दा अष्ट्रेलियन शैक्षिक संस्थाहरुले इमान्दार, शैक्षिक, आर्थिकलगायत सबै कुरामा सक्षम भएको विद्यार्थीहरुलाई मात्र अध्ययनका लागि स्वीकृती प्रदान गर्छन् ।

० नेपाल फर्कने विद्यार्थी कमै छन् है ? – एक्सपर्टबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया जान तयार भएका विद्याथीहरुलाई राखेर प्रि डिपार्चर क्लास म आफैले लिन्छु । त्यस क्लासमा मैले उनीहरुलाई के भन्छु भने ‘हो नेपालमा पढ्दै कमाउँदै गर्ने वातावरण नहुन सक्ला तर, अष्ट्रेलियाको पढाइसँग दक्ष भएर नेपाल फर्कने हो भने यहाँ पनि धेरै अवसरहरु छन् । जस्तैः म आफै त्यसको उदाहरण हुँ । म पनि त अष्ट्रेलियामा पढेको व्यक्ति हुँ । म अहिले नेपालमा नै आएर काम गरिरहेको छु । नेपालमा पनि यस्ता धेरै अवसरहरु छन् ।’ त्यसैले म विद्यार्थीहरुलाई नेपाल नै फर्कन आग्रह गर्छु । देशको सेवा गर्दै इज्जत पनि पाइन्छ नेपालमा ।

० कन्सलटेन्सी सञ्चालन गरिरहेका केही व्यक्तिले विद्यार्थीहरुमाथि आर्थिक ठगी पनि गरेका छन् नि, त्यसप्रति तपाईको धारणा के हो ? – हो, यो विषयमा मैले पनि सुनेको थिएँ । यो क्षेत्रमा पनि केही फटाहाहरु छन्, जो छोटो समयमा नै धेरै कमाउन चाहन्छन् । जसले गर्दा यस्ता समस्यहरु देखिएका हुन् । यस्ता व्यक्तिका कारण यो क्षेत्र नै बद्नाम हुन पुगेको पनि छ । जसले गलत गर्छ, उसलाई कडा कारवाही गर्नै पर्छ । उसले दोहो¥याएर गलत गर्न सोच्न पनि नसक्ने गरी कारबाही गर्ने हो भने त्यस्ता व्यक्ति आफै भागिहाल्छन् नि । सरकारको कमजोर नीतिको कारण त्यस्ता व्यक्तिहरु सलबलाईरहेका छन् । तर, अधिकांश विद्यार्थी तथा अभिभावकहरुले कुन चाहिं संस्था राम्रो हो भन्ने बुझिसकेका छन् जस्तो लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित