कन्सलटेन्सीहरु मेनपावर होइनन्

उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरुको पहिलो रोजाई बन्दै आएको छ अष्ट्रेलिया । अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त शिक्षा, पारिवारिक वातावरण, उज्ज्वल भविश्यसँगसँगै अन्य देशमा भन्दा अलि कम लगानी र सुरक्षाको प्रत्याभूतिलगायतका कारणले पनि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको बताउनु हुन्छ ओली एण्ड एसोसिएट्सका कार्यकारी निर्देशक भवानी ओली । मास्टर्स इन फिजिक्स, मान्टर्स इन एकाउन्टिङ एण्ड फाइनान्स, रजिष्टर माइग्रेसन एजेन्ट, ट्याक्स कन्सलटेन्ट एजेन्ट, १६ वर्षदेखिको नेपाल र २२ वर्षदेखिको अष्ट्रेलियाको ओलीको अनुभवसँगै स्थापना भएको ओली एण्ड एसोसिएट्सले स्थापना कालदेखि नै अष्ट्रेलियाको लागि मात्रै काम गर्दै आएको छ । सन् २००२ मा स्थापना भएको यस संस्थाले अष्ट्रेलिया जान चाहने विद्यार्थीहरु र नेपालमा नै बस्न चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । नेपाली विद्यार्थीको चाहना, अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको अवस्था, शिक्षा मन्त्रालयले परिवर्तन गरेको नियमलगायतका विषयमा <mynewsnepal.com> का लागि कार्यकारी निर्देशक ओलीसँग कुमार भण्डारीले गरेको कुराकानी :

 

भवानी ओली, कार्यकारी निर्देशक – ओली एण्ड एसोसिएट्स

० ओली एण्ड एसोसिएट्स कस्तो संस्था हो ? – उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्ने संस्था हो ओली एण्ड एसोसिएट्स । हामीले अष्ट्रेलिया जानका लागि डकुमेन्टेसन देखि भिसा प्रोसेसिङ र अष्ट्रेलिया पुगेपछि आवश्यक पर्ने सम्पूर्ण सेवा प्रदान गर्दै आएका छौं । विद्यार्थीहरुको करिअर काउन्सिलिङ नै हाम्रो मुख्य काम हो । कुन विद्यार्थीले कुन विषय पढ्न सक्छ, कुन ठाउँमा जान सक्छ, कुन विश्वविद्यालय उसको लागि उपयुक्त हुन्छ, अष्ट्रेलियाको शैक्षिक अवस्था कस्तो छ, नेपाली विद्यार्थीहरुले त्यहाँ के गर्न पाउँछन् र के गर्न पाउँदैनन्लगायतका सम्पूर्ण विषयमा विद्यार्थीहरुलाई हामीले यहाँ नै जानकारी गराउँदै आएका छौं । त्यसको साथसाथै उनीहरुका अभिभावकहरुलाई पनि आर्थिक अवस्थालगायतको बारेमा पूर्ण जानकारी गराउँछौं । हामीले गर्ने अर्को महत्वपूर्ण काम भनेको स्थायी रुपमा अष्ट्रेलिया बसाईसराईं गर्न चाहनेहरुका लागि र अन्य अष्ट्रेलियन भिसाको प्रक्रियाका लागि सेवा प्रदान गर्दै आएका छौं । हामीले विद्यार्थीहरुलाई काउन्सिलिङ गर्नका लागि स्कुल तथा कलेजका शिक्षकहरुलाई पनि ट्रेनिङ प्रदान गर्दै आएका छौं ।

० ओली एण्ड एसोसिएट्सले किन अष्ट्रेलियाका लागि मात्रै काम गर्दै आइरहेको हो ?

– ओली एण्ड एसोसिएट्स अष्ट्रेलियाको लागि स्पेसलिष्ट संस्था भएकाले हामीले अष्ट्रेलियाको लागि मात्र काम गर्दै आएका छौं ।

० त्यसो हो भने ओली एण्ड एसोसिएट्सलाई पनि शैक्षिक परामर्श दातृ संस्था भन्दा फरक पर्दैन ? – हो, हामी पनि शैक्षिक परामर्श दातृ संस्था नै हौं । बजारमा शैक्षिक परामर्श दातृ संस्था भन्ने वित्तिकै विद्यार्थीलाई विेदेश पठाउने काम गर्ने संस्था भन्ने बुझिन्छ । तर, हामी विद्यार्थीलाई विदेश पठाउने मात्र होइन नेपालमा पनि उसको उज्ज्वल भविश्यको लागि परामर्श प्रदान गर्दछौं ।

० ओली एण्ड एसोसिएट्सको विशेषता के–के हुन् ? – नेपाल र अष्ट्रेलियामा कार्यालय स्थापना गरी एजुकेशन, माइग्रेसन र अष्ट्रेलियन इनकम ट्याक्स सर्भिस प्रदान गर्ने सबैभन्दा पहिलो नेपाली एजुकेशन कन्सलटेनसी हो ओली एण्ड एसोसिएट्स । हामीले सन् २००२ देखि यो संस्था सञ्चालन गर्दै आएका छौं । मास्टर्स इन फिजिक्स, मान्टर्स इन एकाउन्टिङ एण्ड फाइनान्स, रजिष्टर माइग्रेसन एजेन्ट, ट्याक्स कन्सलटेन्ट एजेन्ट, १६ वर्षदेखिको नेपाल र २२ वर्षदेखिको अष्ट्रेलियाको मेरो अनुभवसँगै यो संस्थाको स्थापना भएकाले हामीले विद्यार्थीलाई दिने परामर्श नै अरुको भन्दा फरक हुन्छ । हामीले कहिल्यै पनि देशको नियम र कानुन बाहिर गएर काम गर्दैनौं । हामीसँग अष्ट्रेलियन सरकारको मापदण्ड पूरा गरेका काउन्सिलरहरु हुनुहुन्छ । मास्टर डिग्री गरेका र पाँच वर्ष भन्दा बढि अनुभव भएका व्यक्ति मात्र ओली एण्ड एसोसिएट्समा आवद्ध हुनुहुन्छ । नेपालमा पुतलीसडक, पाटन, पोखरा, इटहरी, विर्तामोड, जनकपुर र बुटवल जहाँ गएर पनि विद्यार्थीहरुले परामर्श लिन सक्छन् । त्यसैगरी अष्ट्रेलिया पुगेका विद्यार्थीहरुले त्यहाँ कुनै समस्या परेमा सिड्नी, ब्रिसवेन, पर्थ, मेलवर्न, डर्वीनमा रहेको हाम्रो कार्यालयमा सम्पर्क राख्न सक्छन् । विद्यार्थीको कोर्ष नसकिंदा सम्म हामी उनीहरुलाई निःशुल्करुपमा परामर्श प्रदान गर्छौं । कुनै पनि विद्यार्थीलाई हामी उसको अभिभावकले भन्दा पनि राम्रो केयर गरिरहेका हुन्छौं । हामीले ओली बाहेक अन्य संस्थाबाट अष्ट्रेलिया पुगेका विद्यार्थीहरुलाई पनि त्यहाँ आवश्यक पर्ने सेवा र सुविधा प्रदान गरिरहेका छौं ।

० पछिल्लो समयमा अष्ट्रेलिया जाने विद्यार्थी संख्या बढ्नुको कारण के हो ? – अहिलेको अवस्थालाई हेर्ने हो भने नेपाली विद्यार्थीहरुको पहिलो रोजाई अष्ट्रेलिया नै बनेको छ । अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त शिक्षा, पारिवारिक वातावरण, अन्य देशमा भन्दा अलि कम लगानी, सुरक्षाको प्रत्याभूतिलगायतका कारणले पनि अष्ट्रेलिया जाने विद्यार्थीको संख्या बढ्दै गएको छ ।

० तर, कतिपय विद्यार्थीहरु त अष्ट्रेलियामा समस्यामा परियो भनिरहेका छन् नि ? – विद्यार्थीहरु समस्यामा परेको हुनसक्छन् । तर, समस्या कस्तो हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । अष्ट्रेलिया पुगेर कलेजमा तिर्ने फि भएन, कमाउन सकिएन, कानुन विपरित काम गरेर प्रहरीको फन्दामा परियो भन्छन् भने ति विद्यार्थी आफैले निम्त्याएका समस्या हुन् । जो विद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया जाँदै छ उसलाई पहिले नै थाहा हुनुपर्छ कि मैले त्यहाँ वर्षको कति रुपैयाँ तिर्नुपर्छ, यो पैसा मेरो अभिभावकले तिर्न सक्छन् कि सक्दैनन्, मैले गलत गर्नु हुँदैन । यति हुँदा हुँदै पनि नेपालबाट नै फेक डकुमेन्ट बनाएर विदेश जान्छन भने त समस्यामा परिहाल्छन् नि । यस विषयमा विद्यार्थी आफै सचेत हुनुप¥यो । सहि परामर्श लिएर मात्र विदेश जानु प¥यो नि ।

० अष्ट्रेलियाले पछिल्लो समय परिवर्तन गरको नीतिले नेपाली विद्यार्थीलाई कत्तिको सहज भएको पाउनु भएको छ ? – नीति नियममा जे जस्तो परिवर्तन गरे पनि हामीले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने इमान्दार, शैक्षिक, आर्थिकलगायत सबै कुरामा सक्षम भएको विद्यार्थीहरुलाई मात्र अष्ट्रेलियन शैक्षिक संस्थाहरुले अध्ययनका लागि स्वीकृती प्रदान गर्छन् । अहिले अष्ट्रेलियन सरकारले त्यहाँका शैक्षिक संस्थाहरुलाई जिम्मेवारी थप गरिदिएको मात्रै हो । नियम र कनुनको परिधिभित्र रहेर काम गर्नेहरुलाई झन सजिलो भएको छ भने गलत गर्नेहरुलाई अप्ठेरो ।

० शैक्षिक परामर्श दातृ संस्था नै खोलेर बसेकाहरुले विद्यार्थीहरुसँग पैसा लिएर फरार भएका घटनाहरु पनि सार्वजनिक भएका छन् नि ? – यो क्षेत्रमा फटाहरु धेरै छन् । कुनै पनि विद्यार्थीसँग पैसा लिएर भिसाको ग्यारेन्टी गर्छ भने त्यो गलत हो । सबैले बुझ्नु पर्ने कुरा के हो भने कसैले ‘यति लाख रुपैयाँ देऊ म उडाइदिन्छु’ भन्छ भने त्यो शैक्षिक परामर्श दातृ संस्था नै होइन । कुनै पनि शैक्षिक परामर्श दातृ संस्थाले विद्यार्थीसँग रकम नै लिंदैनन् । शैक्षिक परामर्श दातृ संस्थाहरुले त विद्यार्थीहरुलाई परामर्श प्रदान र डकुमेन्टेसको काम गरे वापत थोरै रकम मात्र लिने हुन् । पैसा त विद्यार्थी आफैले विदेशी शैक्षिक संस्थाको खातमा जम्मा गर्ने हो । परामर्श दातृ संस्थालाई रकम दिनु नै पर्दैन । यस्ता कुरा विद्यार्थीले पनि बुझ्न जरुरी छ । तरपनि यदि कसैले त्यस्तो काम गरिरहेको छ भने त्यस्तमाथि राज्यले कारबाही गर्न सक्नु पर्छ र त्यसअघि नै निगरानी पनि राख्न सक्नुपर्छ । हाम्रो कुरा गर्नु हुन्छ भने हामीले विद्यार्थीसँग लिने भनेको १५ हजार रुपैयाँ मात्रै हो । त्यो पनि अन्तिम समयमा । हामीले त विद्यार्थीको मुल प्रमाणपत्र(ओरिजिल डकुमेन्ट) हरु पनि राख्दैनौं । जेन्युन कन्सलटेन्सीहरुले कहिल्यै पनि त्यस्तो काम गर्दैनन् । मैले देखेको सबैभन्दा उत्तम कुरा के हो भने कन्सलटेन्सीहरुलाई विद्यार्थीसँग रकम लिन अनुमति दिनु नै हुँदैन । विद्यार्थी आफैले उ जान चाहेको शैक्षिक संस्थामा पैसा तिर्नु उपर्युक्त हुन्छ । यस्तो नियम लागु भएमा फस्ने र फसाउने क्रम आफै कम हुन्छ ।

० कन्सलटेन्सी क्षेत्रमा धरौटी राख्नुपर्ने विषयप्रति तपाईंको धारणा के हो ? – देश, विद्यार्थी, अभिभावक र परामर्श प्रदान गर्ने संस्थाहरुको हितमा कुनै पनि नियम बन्छ भने हामीले त्यसलाई स्वीकार गर्नै पर्छ । कसैले गलत गर्छ भने त्यसलाई कानुनी कठघरामा उभ्याउनै पर्छ । नियम यस्तो बन्नु प¥यो कि कसैले गलत गर्न त परै जाओस् सोच्न पनि नसकोस् । जहाँसम्म धरौटीको कुरा छ । एजुकेशन कन्सलटेन्सी भनेका मेनपावर होइनन् । सरकारले सर्भिस फि बाहेक विद्यार्थीसँग रकम लिन नपाउने र विद्यार्थीले नै सिधै शैक्षिक शंस्थाको खातामा रकम जम्मा गर्नु पर्ने नियम बनायो भने त कसैले पनि विद्यार्थीसँग रकम असुल्न नै पाएनन् नि । अनि विद्यार्थीहरुलाई पनि रकम फस्ने डर भएन । अनि किन चाहियो धरौटी ? अब मेनपावर कम्पनीसँग तुलाना गरेर धरौटीको कुरा ल्याएको हो भने त्यो गलत हो । कुनै पनि कन्सलटेन्सीले विद्यार्थीसँग ट्युसन फि वापतको रकम नै लिदैन भने उसले किन धरौटी राख्नु प¥यो ? यस बीचमा पनि धरौटी कति भन्ने पनि प्रश्न उठ्छ । एउटा विद्यार्थीको ट्युसन फि वापत वार्षिक रुपमा झण्डै १२ लाख रुपैयाँ तिर्छ । अब धरौटी २-५ लाख राखिन्छ भने त्यसको के अर्थ । मैले अघि पनि भने सबैको भलाईका लागि नै नीति नियम बनाइन्छ भने हामीले त्यसालाई नमान्ने भन्ने चाहिं हुँदैन ।

० अष्ट्रेलिया पुगेका विद्यार्थी र अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई के भन्नुहुन्छ ? – शिक्षाका साथसाथै भविश्यको खोजिमा अष्ट्रेलिया पुगेका विद्यार्थीहरुलाई राम्रोसँग पढ्न आग्रह गर्छु । अरुको कुरा सुन्ने भन्दा पनि आफू जुन कन्सलटेन्सीको माध्यमबाट गएको हो त्यसकै सर सल्लाहमा मात्र अगाडि बढ्न, कसैको लहलहैमा लागेर कुनै पनि गलत काम नगर्न र सबैभन्दा बढि पढाइलाई ध्यान दिन सल्लाह दिन्छु । त्यसैगरी नेपालबाट अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई सबैभन्दा पहिले नक्कली डकुमेन्ट तयार गरेर जान नखोज्न सल्लाह दिन्छु । अष्ट्रेलिया गएर राम्रोसँग पढ्ने विद्यार्थीको भविश्य उज्ज्वल छ । त्यसैले पनि विद्यार्थीहरुलाई म उचित कन्सलटेन्सीसँग परामर्श लिएर आफूले तिर्ने फि, कोर्षलगायतको विषयमा पूर्ण जानकारी भएर मात्र जान विनम्रतापूर्वक आग्रह गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित