लाइसेन्स होल्ड गर्नेमाथि कानुनी अधिकार प्रयोग गर्नु पर्छ : मन्त्री खतिवडा

yuwaraj

yuwaraj

काठमाडौं । अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताउनुभएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रममा उपस्थित हुनुभएका मन्त्री खतिवडाले कार्यक्रम सम्बोधन गर्दै लाइसेन्स होल्ड गर्नेमाथि कानुनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

उक्त कार्यक्रममा बोल्दै उहाँले सेवा प्रदान गर्ने भन्दै लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृति राष्ट्रिय रोगको रुपमा देखिएको बताउनुभयो ।

‘सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने सेवा प्रदान नगर्ने ओगट्ने अनि तिमीले गरेका कामहरु छिटो छरितो सम्पन्न गर भन्दा अदालत गुहार्न जाने यो कुराको पनि अब अन्त्य हुनुुपर्छ । लाइसेन्स होल्ड गर्ने कुरा अन्यत्र छ भन्ने सुनेको थिएँ, अहिले केही दिनदेखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाली रहँदा यहाँ पनि त्यो प्रवृति रहेछ हेर्नुस् । यो त राष्ट्रिय रोग पो भएको रहेछ, यसको पनि अब अन्त्य हुनुपर्छ, यसरी हुँदैन ।’उहाँले भन्नुभयो ।

उहाँले दूरसञ्चारको फ्रिक्वेन्सी तोक लगाएर बाँडिने र कुनै बेला टेलिफोनको तोक लगाउन आफू मन्त्रीकोमा पुगेको स्मरण गर्दै त्यो युगको अन्त्य गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो । उहाँले राज्यलाई फाइदा नहुनेगरी मुख हेरेर, दबावमा परेर काम गरे नियामक निकायको भूमिकामा प्रश्न उठ्ने समेत बताउनुभएको हो ।

अबको सेवा भ्वाइसमा भन्दा डेटामा बढी हुनुपर्ने साथै क्रिप्टोकरेन्सी, क्राउडसोर्सिङ, ई(कमर्सका क्षेत्रमा डेटा महत्वपूर्ण हुने भएकाले डेटाको सेवा वृद्धि गर्न र गुणस्तरीय बनाउन ध्यान दिनुपर्ने समेत बताउनुभयो । उहाँले प्राधिकरणको व्यवसायीक काममा मन्त्रालयले हस्तक्षेप नगर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित