यि अभिव्यक्ति गृहमन्त्रीलाई कति सुहाउँछ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिले यतिबेला तहल्का मच्चाएको छ । गृहमन्त्री जस्तो पदमा बसेको व्यक्तिले दिएको फितलो अभिव्यक्तिका कारण प्रतिपक्ष दल नेपाली कांग्रेस मात्र होइन सर्वसाधरण जनता समेत जिब्रो टोक्दै अचम्म मानिरहेका छन् ।

गृहमन्त्रालयमा सोमबार ‘गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक’ गर्न आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले टनका टन सुन तस्करी भइरहेको अभिव्यक्ति दिए । उनले भने–‘३÷४ केजी मात्रै नभइ टनका टन सुन तस्करी भइरहेको छ ।’ कार्यक्रममा गृहमन्त्री बादलले नेपालमा तस्करीको जालो मौलाएको भन्दै तस्करको प्रशासनसँग सिधा सम्बन्ध रहेको पनि बताए । राजनीतिक दलका नेताकै संरक्षणमा तस्करहरुले कानुनको रक्षा गर्ने ठेकेदारहरुसँग पनि सम्बन्ध बढाएको समेत बताउन भ्याए ।

सुनमात्र होइन गृहमन्त्री बादलले नेपालबाट मानव तस्करी पनि भएरहेको बताए । विभिन्न नाकाहरुबाट तस्करहरुले देशलाई लुटिरहेको बताउँदै उनले भने–‘प्राकृतिक स्रोत र साधन मात्र होइन, मानव तस्करी पनि भइरहेको छ । हामीलाई लुट्नेहरु देश बाहिर मात्रै होइन, देशभित्रै पनि छन् ।’

कार्यक्रममा गृहमन्त्री बादलले मुलुकमा भ्रष्टाचार र माफियातन्त्र समेत मौलाएको बताएका छन् । राजनीतिक दलकै आडमा भ्रष्टाचार मौलाएको उनको भनाई थियो । गृहमन्त्री बादलले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गरेका हुन् । सोमबार मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित एक समारोहको आयोजना गरी गृहमन्त्री बादलले कार्ययोजना सार्वजनिक गरेका हुन् । कार्य योजनामा उनले मुख्यतः राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई ‘क्विक सर्भिस डेलिभरी’ लाई प्राथमिकता दिएका छन् ।

कार्य योजनामा हरेक स्थानीय तहमा एउटा सुरक्षा पोष्ट स्थापना गर्ने, निजामति र प्रहरीतर्फको जनशक्ति व्यवस्थापन तथा सेवा प्रभावकारी बनाउने, सुरक्षा निकायलाई सूचना प्रविधिमैत्री बनाउने, विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण स्थापना गर्न पहल गर्ने र सुशासन प्रबर्द्धन गर्ने उल्लेख छ । साथै, ड्रोनको प्रयोग गरेर अब सीमा क्षेत्रको निगरानी गरिने समेत उल्लेख गरिएको छ ।

तर, यो कुरा उनले कसलाई सुनाउन खोजेका हुन् त्यो भने अझै हामीले बुझ्न सकेका छैनौं । प्रधानमन्त्री पछि मुलुकको सासनसत्ता गृहमन्त्रीकै हातमा हुन्छ । तर, गृहमन्त्री बादलले दिएको अभिव्यक्तिको भने अहिले चौतर्फी रुपमा आलोचना सुरु भइसकेको छ ।


गृहमन्त्री बादलले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना तयार गरेर काम गर्न खोज्नु सह्राहनीय कार्य हो । यसलाई कसैले पनि नकार्न सक्दैन । तर, टनका टन सुन तस्करी भइरहेको, मानव तस्करी भइरहेको छ भनेर फितलो अभिव्यक्ति दिन चाहिं कति सम्म उचित होला ?

गृहमन्त्री आफै, शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरी प्रशासन आफ्नै हातमा र पनि टनका टन सुन तस्करी हुँदा के हेरेर बस्नु भएको थियो त गृहमन्त्री ज्यू ? कि तपाईले भन्न खोज्नु भएको यस अघिका सरकारको पालामा भन्नु भएको हो । हामीलाई थाहा भएसम्म त प्रहरीले ८८ किलो सम्म सुन वरामद् गरेको रेकर्ड छ । तर, टनका टन भनेको त धेरै नै पो हो त ?

मुलुकमा गणतन्त्र आएपछि सरकारमा सबैभन्दा बढि समय नेकपा एमाले र माओवादी केन्द्र नै छ । अहिले यी दुबै दल एक भएर पार्टी एकताको प्रक्रियामा छ । आप्mनै सरकारको पालमा भएको उक्त गैरकानुनी कार्यप्रति त्यतिबेलै किन आवाज उठाउन सक्नु भएन ? बाँकी रहेको समयमा वर्तमान प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सत्ताको बागडोर सम्हालेको थियो । त्यतिबेला प्रतिपक्षमा रहने दलले पनि टनका टन सुन तस्करी भएकोप्रति सरकारमाथि खबरदार गर्न सकेनन् ।

अहिले नै टनका टन सुन तस्करी भइरहेको हो भने आफै नै गृहमन्त्री हुनुहुन्छ र त्यसलाई कसरी कम गर्ने भन्ने थाहा हुनु नै पर्ने हो । बादलले गृहमन्त्रीको जिम्मेवारी सम्हालेको आज जम्मा ३५ दिन मात्र भयो । ३५ दिनभित्र यत्तिका सूचना संकलन गर्न सकिदो रहेछ भने तस्करी र भ्रष्टाचारको जालो तोड्न पनि खासै समय लाग्दैन । तर, गृहमन्त्रीले कस्तो कदम चाल्ने हुन् त्यसको प्रतिक्षामा छन् नेपाली जनता ।

गृहमन्त्री बादलले सस्तो प्रचारका लागि मुलुकको अवस्था दयनिय भएको बताएर अन्तर्राष्ट्रिय स्तरलाई समेत हसाउन खोजेका हुन् कि काम नै गर्न खोजेका हुन् ? अन्तर्राष्ट्रिय स्तरमा समेत नरोम्रो छाप बस्ने गरी सार्वजनिक कार्यक्रममा मुलुकको अवस्था दयनिय भएको देखाउन कतिसम्म उचित हो ? स्वयम् गृहमन्त्रीलाई नै थाहा होला ।


हुनत यस अघि वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले कहिले दिन प्रतिदिन खस्कदै गएको सेयर बजारमा लगानी नगर्न आग्रह गर्ने त कहिले मुलुकको अवस्था डामाडोल भएको भन्दै स्वेतपत्र जारी गर्ने कार्य गरिसकेका छन् । नेपालमा भ्रष्टाचारी र कालोबजारीले जरो गाड्दा समस्या दिन प्रतिदिन थपिरहेको हामी सबैलाई थाहा नै छ । त्यसको अन्त्यका लागि काम गर्ने हो भाषण गर्ने होइन भन्ने कुरा मन्त्री र राजनीतिक दलका नेताहरुले बुभ्mन् पर्ने हो ।

स्मरण रहोस्, नेपालमा हुने अवैध तस्करी, कालोबजारीलगायतमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनीतिक दलका नेता तथा मन्त्रीहरुकै सहभागिता रहेको देखिन्छ । राजनीतिक आडमा मात्र यस्तै गैर कानुनी कार्य हुने गरेको तथ्यहरु यस अघि पनि सार्वजनिक भइसकेका छन् । जुन कुरा वर्तमान गृहमन्त्री बादलले समेत स्वीकारी सकेका छन् । अनि यस्तो समयमा भाषणको खाँचो थियो कि कामको ? खै गृहमन्त्रीले बुझेको ?

हुनत बादल गृहमन्त्री भएसँगै सार्वजनिक विदाको दिनमा चलेका सवारी साधनलाई कारबाही गर्ने देखि विरामी परेर छटपटाइरहेकाको समेत उद्दार भएका छन् । छोटो समयमा नै उनले राम्रा काम नगरेका भने होइनन् । उनले यस अघि नै भ्रष्टाचारी र कालो बजारी गर्नेमाथि कडा कारबाही गर्ने घोषणा गरिसकेका छन् । तर, कारबाही प्रक्रिय कहिलेबाट सुरु हुने हो त्यो भने पत्तो छैन ।

सस्तो लोकप्रियताका लागि मुलुकको अस्तित्वमाथि नै दाग लाग्ने गरी सार्वजनिक कार्यक्रममा बोल्नु चाहिं कतिसम्म उचित हो ? सम्बन्धित निकायको ध्यान जाओस् । सस्तो लोकप्रियताले कसैको भलो गर्दैन । पदमा आफू बस्ने अनि सबै नराम्रो भयो भनेर दोष चाहिं कसलाई दिन खोजेका हुन् गृहमन्त्रीले ? गृहमन्त्रीको काँधमा प्रहरी र प्रशासनको सरुवा बढुवा मात्र होइन सिंगो मुलुकको सुरक्षाको जिम्मेवारी रहन्छ । गृहमन्त्री जस्तो पदमा बसेर टनका टन सुन तस्करी भइरहेको छ भन्न सुहाउँछ ?

अर्को कुरा गृहमन्त्रीले राजनीतिक दलको आडमा नै तस्करी र भ्रष्टाचारी बढेको बताएका छन् । के यसमा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ अछुतो रहन सक्छन त ? यदि अछुतो नै छन् भने कुन नेताले कुन दलाललाई गैरकानुनी कार्य गर्न सहयोग गरिरहेको छ त ? गृह मन्त्रालय मातहत रहेको प्रहरी प्रशासनले किन त्यस्ता नेताको कठालो समाउन सक्दैन त ? होइन भने भाषण गरेर मात्र जनताको मन जित्न सकिदैन गृहमन्त्री ज्यू ।

प्रतिक्रिया

सम्बन्धित