ओलीमार्फत् संघीयता फाल्ने चीनको नीति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालमा संघीयता आवश्यक नरहेको बताएपछि नेपाली राजनीतिक वृत्तमा फेरि हलचल मच्चिएको छ । केही समय अगाडि तिब्बत भ्रमणमा गएका ओलीले नेपालमा पश्चिमा राष्ट्र, अमेरिका र भारतले संघीयता जबरजस्ती ल्याइदिएको भन्दै चिनियाँ उच्च अधिकारीहरूलाई बताएपछि यसको खुलासा भएको हो ।

  सुरुवातीदेखि नै संघीयताको विरोध गर्दै आएका ओलीले चीनको सहयोगमा नेपालबाट संघीयता फाल्न पहल गरिरहेको स्रोतको भनाइ छ । चीनले पनि नेपालमा संघीयता लागू हुँदा आफूलाई सुरक्षा थ्रेट हुने जनाउँदै आएको छ । ओलीलाई प्रयोग गरेर चीनले नेपालमा संघीयता असफल बनाउने रणनीतिमा लागेको छ । यो कुराको जानकारी ओलीलाई छ । ओलीले पार्टीभित्र विरोध हुने थाहा पाएपछि वरिष्ठ नेता माधवकुमार नेपालसहितका शीर्ष नेताहरूलाई जानकारी गराएका छैनन् ।

  तर, ओलीले आफ्नो गुटभित्र सो विषयमा छलफल चलाइ सकेका छन् । सुवासचन्द्र नेम्वाङ, अग्नि खरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, बामदेव गौतमसहितका नेताहरूलाई भने चीनले नेपालमा संघीयता फाल्नका लागि दवाव दिइरहेको बताइसकेका छन् । एमाले स्रोतले भन्यो, ‘केपी ओली तिब्बत भ्रमणमा गएका बेला संघीयता फाल्नका लागि चिनियाँ उच्च अधिकारीहरूले दवाव दिएका थिए । यस विषयमा ओलीले आफ्नो गुटमा छलफल चलाइ सक्नुभएको छ ।’भारतसँगको सम्बन्ध विग्रिएपछि ओली नयाँदिल्लीलाई धम्काउन चीनसँग निकट रहेको देखाउँदै आएका छन् ।

  तर, भारतले पनि ओलीको चाल बुझेको छ । एमालेमा भारतको पक्षधर भनेर चिनिने माधवकुमार नेपाल, डा.राजन भट्टराईलगायतले ओलीलाई चीनको पक्षमा धेरै काम नगर्न चेतावनी दिइसकेको स्रोतको भनाइ छ । नेपालमा पनि संघीयता विरुद्ध जनमत बन्दै गरेको एमालेको बुझाइ छ । संघीयताको विरोध गरेरै एमालेले स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्न सफल भएको एमालेका नेताहरू बताउने गर्छन् ।

  चीनलाई ओलीले आफ्नो पार्टी एमालेले संघीयताको विरोध गरेकै कारण स्थानीय तहको दुई चरणको निर्वाचनमा ठूलो पार्टी बन्न सफल भएको बताएका छन् । ओलीले २ नं. प्रदेशमा भारतले एमालेलाई पराजित गर्न ठूलो धनराशी खर्च गरेको भन्दै चीनसँग निर्वाचनका लागि आर्थिक सहयोग माग गरेको स्रोतको भनाइ छ । ‘ओलीजीले चीनसँग चुनाव खर्च माग गर्नुभएको छ’, स्रोतले भन्यो, ‘तर, पैसा आएको छ कि छैन भनेर थाहा हुन सकेको छैन ।

  सायद चीनबाट एमालेलाई निर्वाचनका लागि पैसा आएको धुम्बाराहीस्थित पार्टी कार्यालयमा चर्चा हुने गरेको छ ।’ भारतले नाकाबन्दी लगाएका कारण चीनसँग नजिक हुन पुगेका ओलीले बेलाबेला चिनियाँ उच्च अधिकारीहरूसँग भेटघाट गर्दै आएका छन् । ओलीले भारतको धेरै विरोध नगरे पनि चीनको भने सधै प्रसंशा गर्ने गरेका छन् । केही समय अगाडि उपचारको बहाना बनाएर बैंकक पुगेका ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिहरूलाई पनि भेटेका थिए । त्यति मात्रै होइन ओलीले बैंककमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेर कुनै रुपको राजसंस्था फर्काउन सकिन्छ कि भन्नेबारेमा पनि छलफल गरेको स्रोतको भनाइ छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ।

 

प्रतिक्रिया

सम्बन्धित