मानव कल्याण समाजको पहिलो बार्षिकोत्सवमा साताव्यापी कार्यक्रम, रक्तदानदेखि सडकबाट उद्धार र मुठ्ठीदानसम्म

sewa ghar

  पसलमा शोकेशभित्र सजाएर राखेको
काँचको चुरा जस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दाचढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी !

रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी !
बाटामा हिँड्दाहिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी !
यो जिन्दगी खै के जिन्दगी !!

हरिभक्त कटुवालको यो कवितामा मानव जीवनमा जतिबेला जे पनि हुनसक्छ भन्ने भाव बुझ्न सकिन्छ । हो, हाम्रो जीवन एउटा काँचको चुरा अनि रबरको चप्पल जस्तै छ । कहिले कहाँ पुगेर टुट्छ पत्तो हुँदैन ।

चेतनशील प्राणी भएर यो संसारमा जन्म लिइसकेपछि हामीले कहिलेकाहिं आफ्नो लागि मात्र होइन अरुको लागि पनि जीउन जान्नुपर्छ । तर, चेतनशील प्राणी हुँदा हुँदै पनि मानीसबाट नै ठूला–ठूला गल्ती र कमजोरी हुँदै आएका छन् । जन्म दिने बाबुआमालाई बृद्धाश्रम पु¥याउनेदेखि सडकमा अलपत्र पार्नेहरु पनि भेटिन्छन् यो शहरमा ।

तर, यो स्वार्थी समाजको भिडमा तिनै अश्रय विहिनहरुलाई आश्रय दिएर आफ्नो सम्पूर्ण जीवन नै व्यथित गरिरहेका समाजसेवीहरुको पनि कमी छैन यहाँ । हो, आज हामी यस्तो संस्थाको समाचार बनाइरहेका छौं, जसले बाबु आमालाई सडकमा छाड्ने नभई सडकमा अलपत्र परेकाहरुलाई उद्दार गरी सेवा प्रदान गरिरहेको छ ।

सामाजिक अभियान्ता सुमित्रा चौलागाईंद्धारा सञ्चालित मानव कल्याण समाजको सेवा घरले स्थापनाको पहिलो वार्षिकोत्सव मनाउने तयारी गरेको छ । सडक बालबालिका र महिलाहरुको उद्धारमा सक्रिय मानव कल्याण समाजले एक वर्षमा एक सय जनाभन्दा बढीको उद्धार गरेको छ । जसमा असक्त, अनाथ, अपाङ्ग, मानसिक सन्तुलन गुमाएका महिला र बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई सडकबाट उद्धार गरी पालनपोषण गर्दै आएको छ ।

समाजकी अध्यक्ष सुमित्रा चौलागाईका अनुसार समाजले ४० जनालाई सडकबाट उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको छ । वेवारिसे मानवमुक्त भक्तपुर बनाउने उद्देश्यसहित मानव उद्धार र सहयोग गर्दै आएको सेवा घरमा अहिले ४० जना बालबालिका, महिला, अशक्त र अपाङ्गहरु रहेका छन् ।

जसमध्ये बालबालिका ९ जना, बोल्न नसक्ने ४ जना, दुवै गोडा नभएको १ जना, दुवै आँखा नदेख्ने १ जना, पक्षघातका विरामी २ जना, सुस्तमनस्थिति भएका २ जना, सामान्य अवस्थाका ३ जना र मनरोगी १९ जना रहेका छन् ।

समाजले पहिलो वर्ष पुरा गरेको अवसरमा साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाउने भएको छ । सेवा घरमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष चौलागाइले यही बैशाख १८ गतेबाट सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिने जानकारी गराइन् ।

सप्ताहव्यापी कार्यक्रममा सडक अवलोकन र उद्धारदेखि रक्तदान र मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् । बैशाख १८ गते उद्घाटन, १९ गते सडक अवलोकन र उद्धार, २० गते स्वास्थ्य शिविर, २१ गते मनोरञ्जनात्मक कार्यक्रम, २२ गते रक्तदान, २३ गते मुठ्ठीदान संकलन अभियान र घरदैलो कार्यक्रम तथा अन्तिम दिन २४ गते सामूहिक दिप प्रज्वलन र समापन कार्यक्रम हुने अध्यक्ष चौलागाईले बताइन् ।

यस्तो छ मानव सेवा समाजको सेवा घरेले गरेको काम

प्रतिक्रिया

सम्बन्धित