कोरोना अस्पतालमा मृत्यु भएका थापाको शव ११ दिनपछि परिवारलाई

butwal

बुटवल । बुटवलको कोरोना अस्पतालमा यही चैत १६ गते ज्यान गुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेको छ । आज भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवारजन सहमत भएका हुन् ।

उपचारमा लापरवाही भएको भन्दै परिवारले क्षतिपूर्ति माग गरी शव उठाउन मानेका थिएनन् । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालय, बुटवलमा क्रियाशील सामाजिक संस्था र मृतकका आफन्तबीच भएको छलफलमा शव उठाउने सहमति भएको हो ।

प्रदेश सरकारको पहलमा मृतककी श्रीमतीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोरालाई कक्षा १२ सम्म निःशुल्क पढाउने सहमति भएको बैठकमा सहभागी संविधानसभाका सदस्य विनोद पहाडीले जानकारी दिए। मृतकका परिवारलाई सामाजिक सङ्घ संस्थाले रु आठ लाख राहत दिने निर्णयसमेत भएको छ ।

दुवईबाट यही चैत पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना हुनुभएको थियो । चैत १६ गते बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा थापाको ज्यान गएको थियो । थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित