एक निर्देशक जसले हिन्दी सिनेमामा नयाँ व्याकरण थपे
यो लेखमा म जुन निर्देशकको बारेमा बताउदैछ उ एकदम क्लियर कट कुरा राख्छ । उसलाई यो पूरा हप्ता पढे र सुनेपछि म पनि केही बदलिएको महसुस गर्दैछु । उसको बारेमा अगाडि लेख्नु भन्दा आफैं यो लेखनी बारे केही भन्छु कृपया यो लेखबाट सब कुराको अपेक्षा नगर्नुहोला । किनकी कसैको सिंगो इतिहास एकै लेखमै लेख्न सम्भव हुँदैन ।
दक्षिण भारतीय शहर हैदराबाद सूचना प्रविधिको हब शहरको रुपमा परिचित शहर हो र यहि शहर तेलगु सिनेमाको नगरी पनि हो । रामगोपाल बर्मा सन् १९६२मा यहि शहरमा जन्मिएका थिए । हैदराबादबाट करिब २७४ किलोमिटर उत्तर पश्चिममा पर्ने बिजयवाडाको सिद्दार्थ इन्जिनियरिङ कलेजबाट बिई गरेर निस्किएपछी रामगोपाल बर्माले केही समय साइट इन्जिनियर भएर कृष्ण ओबेराय होटल हैदराबादमा काम गरे । बच्चैदेखि फिल्मका कडा शौखिन यी युवाले आफुलाई इन्जिनियरका रुपमा स्वीकार गर्न सकेनन् र त्यहाँबाट बाहिर निस्केर बरु एउटा भिडियो पसल खोले र यसबाटै शुरु भयो उनको फिल्मनगरतिरको यात्रा । पछि पसल पनि बन्द गरेर उनी केही समय निर्देशक बि.गोपालको चौथो सहायक निर्देशक पनि भए तर त्यहाँपनि उनी टिक्न सकेनन् । उनिमा भिन्नै खाले फिल्म बनाउने तिब्र हुटहुटी थियो त्यसैले उनले परमपरागत निर्देशकसँग काम गर्न सकेनन् र एक दिन आफ्ना साथीको सहयोग लिएर नायक नागार्जुनलाई भेटे र आफ्नो सिनेमाको कथा सुनाए । उनको कथा भन्ने शैलीबाट प्रभावित बनेका नागार्जुनले उनको फिल्मलाई ग्रिन सिग्नल दिए र सन् १९८९मा बन्यो शिवा । तेलगु सिनेमाका परम्परागत सूत्र जहाँ नायक नवरस बोकेर नायिकाको वरिपरि नाच्ने,बहिनीको बदला लिने कथाको वरिपरि घुमेको थियो त्यहाँ २८ बर्षको यो ठिटोले ठाडो हस्तक्षेप गरेयो र राजनीतिक हिंसा र सिस्टम माथी प्रश्न गरिनुपर्ने कथा पस्क्यो । शिवापछि रामगोपाल बर्माले अरु चार,पाच तेलगु चलचित्र बनाए र अवार्ड र वाहवाही बटुले ।
तर उनलाई यति मै रोकिनु थिएन र उनी झरे मुम्बई सिनेमा नगरी जहाँ उनले थपे हिन्दी सिनेमामा नयाँ ब्याकरण । हिन्दीमा रामगोपाल बर्माको पहिलो चलचित्र होशिवा र त्यसपछि आयो रंगिला । मुम्बईमा त्यतिखेरसम्म सफासुघरी प्रेमकथाको चलचित्रको नै बोलबाल थियो जसका हर्ताकर्ता थिए जोहर र चोपडाहरु । उनिहरुकै कम्फर्ट जोनमा छिरेर नियम बद्ल्दै दक्षिणको यो ठिटोले मुम्बईया भाषामा भनिने टपोरी लभस्टोरी बनायो जसको नायक कुनै सम्पन्न घरमा बस्दैन । राम्रा कपडा लगाउँदैन न त राम्रो र लवज मिलाएर बोल्छ ।तर यसको प्रेमकथालाई सबैले स्वीकार गरे । यस सिनेमा मार्फत उनले बलिउडका लागि एआर रहमान जस्ता अब्बल संगीतकार दिए जसले आज पूरा बिश्वभरी भारतको नाम राखेका छन् ।
र त्यसपछि रामगोपाल बर्माले सत्या बनाए, यो सिनेमाले एउटा इतिहास बनायो जसको साक्षीका रुपमा आज पनि अनुराग कश्यप, सौरभ सुक्ला,हंसल मेहता जस्ता उम्दा निर्देशक बलिउडमा छन् जो यथार्थपरक र अर्थपूर्ण सिनेमा बनाउने हिम्मत गर्छन् । आज बलिउडमा जुन यर्थाथबादी फिल्म बनाउने निर्देशकहरुको स्कूल छ त्यो स्कूलका प्रीन्सिपल हुन् यिनै रामगोपाल बर्मा । नाचगान,रमाईलो र नायकनायिकालाई सम्भ्रान्त देखाएर शहरी कथा भन्ने र नायकनायिकालाई स्वजिरल्याण्ड लगेर नचाउने सिनेमाको बोलबाल भएको इन्डस्ट्रीमा घुसेर गरिब र मध्यम वर्गका कथा पस्कनु सानो चुनौती पक्कै थिएन् ।
मुम्बई अन्र्डरबल्र्डको कथामा आधारित रहेको सत्या सिनेमामा न त त्यस समयका कुनै स्टार कलाकार थिए, न कुनै चमकदमक थियो तर पनि सिनेमा यसरी चल्यो कि त्यो सिनेमाको अगाडी अरु केही पनि चलेन् । यो फिल्म रिलिज पछिको एक प्रसङ्ग पनि अजिबको छ । रामगोपाल बर्मा बोनी कपुरको अफिसमा चिया पिउदै थिए । फिल्मका निर्देशक भरत शाहले फोन गरे र भने ‘रामु फिल्मको अकुपाई जम्म ३० प्रतिशत छ । यो राम्रो भएन । भोलि के हुन्छ हेरौं!’रामगोपाल बर्माको बैचैनी बढ्यो उनले बोनी कपुरसंग आग्रह गरे र कुनै फिल्म डिस्ट्रीब्युटर्सलाई सोध्न आग्रह गरे । बोनिले फोन घुमाए उताबाट डिस्ट्रीब्युर्टस भन्छ ‘यो फिल्म डुब्यो । यसलाई बिर्सिदेउ’। अनि आयो शनिबार र त्यसपछि आइतबार र फिल्मले बल्ल देखायो आफ्नो असली रंग । मुम्बईका सिनेमा हलमा दशकौंमा नभएको ब्ल्याकमा टिकट लिनेको संख्या थपियो र फिल्म हेर्न नपाएका थुप्रै हानथापमा उत्रिए ।
सत्यपछाडी रामगोपाल बर्माले अनेक किसिमका सिनेमा बनाएका छन् । प्रत्येक फिल्ममा केही न केही नयाँ गर्ने उनको स्वभाव नै छ । उनका अधिकाश सिनेमा या त जङ्गलको सेटअपमा छन् वा मुम्बई अन्र्डरबल्र्डमा आधारित । ३ जना पात्र र एउटै घरमा छाँयाकन गरिएको कौन होस् वा सडकमा शुटिंग गरिएको रोड,वा हररमा नंया प्रयोगको भुत । महिलालाई पिडीतको स्वरुपमा प्रस्तुत गरिने शैलीमा चुनौती दिंदै महिलाले लिने बदलामा आधारित एक हसिना थि सबै बर्माले बनाए । कम्पनी,दौड,नाच, मै माधुरी दिक्षित बन्न चाहाती हु,अबतक छप्पन, आदिआदि उनका सिनेमा हुन ।
सत्यपछाडी यिनले शेखर कपुरसँग मिलेर इन्डियन टल्किस नामक कम्पनी खडा गरे र मणिरत्नमलाई लिएर दिल से बनाए । दिल से फ्लप भयो, कम्पनी भत्कियो । त्यसपछि उनले बर्मा कम्पनी बनाए र मनोज बाजपेयीलाई लिएर सुल बनाए । यो चलचित्रले राष्ट्रिय पुरस्कार पाएको थियो । श्याम बेनेगल, गोविन्द निहालनी र गुल्जारलाई निकै पच्छाउने रामगोपाल बर्माका प्रिय हिन्दी सिनेमाहरुमा कलयुग,अर्धसत्य र मेरे सपने हुन् । अर्धसत्य बाट प्रभावित भएरै आफ्नो सिनेमाको नाम सत्या राखेको बर्माले एक अन्तर्वार्तामा बताएका छन् । रसियन अमेरिकी उपन्यासकार अयन रयान्ड,जर्मन दार्शिनक फ्रेड्रीक नित्से,लेखकद्धय ह्यड्ली चेस र फ्रेड्रीक फोर्स्य्टबाट प्रभावित यी निर्देशकले दर्जनौं राष्ट्रीय र अन्तराष्ट्रीय अवार्ड जितेका छन् । सन् २००४मा बिबिसी वल्र्ड सर्भिस ले उनलाई बलिउडका बोसेस्मा राखेको थियो । ब्रिटिश लेखक गे्रडी हेन्ड्रीक्सले रामगोपाल बर्मालाई मुम्बईका म्याभरिक भनेका छन ।
अनुसन्धानमुलक सिनेमाका लागि उच्च सम्मन गरिने म्याभरिकसंग यिनले बर्मालाई दाँजेका छन् । सिएनएन आइबिएनले रामगोपाल बर्माको सत्या फिल्मलाई भारतीय सिनेमाका उत्कृष्ट १०० भित्र राखेको छ । बिख्यात फिल्म समिक्षक इडौर्ड वेन्टपले यिनका सिनेमालाइ ‘मुम्बई नोइर’को उपमा दिएका छन् । रामगोपाल बर्माका सिनेमाका पात्रहरु मुम्बईका साघुरा गल्लीमा बस्छन्, श्यामस्वेत तिनको जिन्दगीमा अत्याधिक हिंसा हुन्छ र तिनलाई राजनीतिक सिस्टमले कचरा सम्झन्छ । अनुहारमा आक्रोश, आँखामा छट्पटी र भावभङीमा असन्तुष्टी उनका प्रायः पात्रमा हुन्छन् ।प्राय विवादमा आएका विषयलाई समाएर फिल्म बनाउने यिनका फिल्ममा सम्बाद भन्दा ज्यादा मनोभाव दर्शाउन खोजिन्छ । क्लोजअप शट ज्यादा प्रयोग गर्ने रामगोपाल बर्मा रियालिस्टिक सिनेमाका गडफादर,समसामयिक बिषयका रुचिकार र शहरी हिंसालाई पर्दामा ल्याउने निर्देशक हुन ।
हलिउड सिनेमा गडफादरबाट उच्च प्रभावित रामगोपाल बर्माले यसैको सिको गर्दै बलिउडमा सरकार सिरिज बनाए । अमिताभ बच्चनका सदाबहार यी फ्यानले आफुले अमिताभ बिनाको सरकारको परिकल्पना पनि गर्न नसक्ने बताएका छन् । अमिताभलाई बोल्ड फिल्म मात्र सुहाउने बताउने रामगोपाल बर्माले आफू अमिताभको ब्लयाक सिनेमा हेरेर निराश भएको एक अन्तरबार्तामा बताएका छन् । नायिका श्रीदेवी का डाइहर्ट फ्यान रामुले उनलाई आफ्नो आत्मकथाको पुस्तकमा ‘सुन्दरता कि प्रतिमुर्ति ’उल्लेख गरेका छन । करिब तीस बर्ष सिनेमा क्षेत्रमा बिताएका रामगोपाल बर्माले यो क्षेत्रमा एउटा साथी पनि बनाउन सकेनन् तर आज पनी उनको पदचाप पछाएर अनुराग कश्यप, हंसल मेहता,मधुर भन्डाकर लगायतका निर्देशकहरु अगि बढिरहेका छन् । मनोज वाजपेयी जस्ता उम्दा कलाकारले गडफादरका रुपमा मान्ने रामगोपाल बर्माले बलिउडका लागि एक से एक कलाकार,संगितकार र कयौ निर्देशक दिएका छन् ।
रामगोपाल बर्माले सयौं सिनेमा बनाएका छन् तर यिनका सिनेमाको सुत्र कसैले पहिलाउन सक्दैनन् । जब उनका चलचित्र चले ती सत्या, रङिला,सूल, सरकार, अबतक छप्पन, बने र ति जब फ्लप भए ती डार्लिङ,जेम्स आदि बने ।
पोर्न नायिका मिया माल्कोभालाई लिएर गड,सेक्स एन्ड ट्रुथ जस्ता सिनेमा बनाएर पछिल्लो समय बिबादित बनेका रामगोपाल बर्माको अटोबायोग्राफी ना इस्टम (मेरो मर्जी) सन् २०११मा प्रकाशित भएको थियो । गन एन्ड थाइजस्ः द स्टोरी अफ माई लाइफ उनको बायोग्राफीको नाम हो, यो पुस्तक उनले अमिताभ बच्चन, उर्मिला मातोडकर, अयन रयान्ड, बुरसुली, र केही गैगस्र्टसमा समर्पित गरेका छन् । पछिल्लो समय गन एण्ड थाइज नामक वेव सिरिजको घोषणा गरेका रामगोपाल बर्माका ती सिरिज बर्षौ बितिसक्दा पनि तिनको अत्तोपत्तो छैन ।९० को दशकमा एकछत्र राज गरेका रामगोपाल बर्मा अहिले केवल ट्विटरमा छन् । ट्विटर मार्फत बेला बेला विवाद सिर्जना गरेर चर्चामा आउने रामगोपाल बर्मा आफुलाई ट्विटर फाइटर भन्छन् ।
रामगोपाल बर्माको फिल्म हेरेर फिल्म प्रती लगाव बढाएका म र म जस्ता करोडौं उनका फ्यान चाहिँ फेरि पनि उनका चलचित्र नै कुरेर बसेका छौं । मनोज बाजपेयीले भनेजस्तै उनी कुनै पनी समय आएर हामीलाई सरप्राइज गरुन् भन्ने इच्छा छ । अप्रिल ७ रामगोपाल बर्माको जन्मदिन हो । यो लेखमार्फत ढिलै भएपनी भन्न चाहान्छु ह्याप्पी बर्थ डे रामु हामी तिम्रा सिनेमा कुरिरहेका छौं ।
प्रतिक्रिया