‘अमाली दुर्गे’, ‘उपदेश’ हुँदै बन्यो अफगानी ‘मिस्टर डुर्गा’
घरदेखि १५ मिनेट पर बेलभञ्याङ मावि । झोलाभरि किताब अनि हातमा भलिबल । अमालीथरबाट हरेक दिन स्कुल जाँदा हातमा भलिबल टुट्दैनथ्यो । स्कूल पढ्दासम्म भलिबल टिममा सबैको चाहना हुन्थ्यो ‘अमाली दुर्गे’को टिममा पर्नु । हो, त्यही ‘दुर्गे’ अहिले अफगानिस्तानी भूमिमा ‘मिस्टर डुर्गा’को रुपमा पसिना बगाउँदैछ । उनी हुन्, हालका बौंदीकाली गाउँपालिका – ३, रकुवाका दुर्गा ठाडा ।
बेलभञ्याङ पढ्दासम्म भलिबलमा बजारिएका उनका हातमा १६ वर्षसम्म राइफल बसे । १६ वर्ष भारतीय सेनाको जागिरपछि गाउँ फर्किएका दुर्गाले भलिबलसँगै आफ्नो मनको एक कुनामा रहेको क्षेत्र गीत संगीतका साथै फिल्मी दुनियामा एक्कासी फड्को मारे । अहिले पनि भर्खरै कामकाजी उमेरमा प्रवेश गरेजस्ता देखिने ठाडा उत्तिकै ह्यान्डसम लाग्छन् । १६ वर्षको नोकरीपछि पेन्सनसाथ घर आएका दुर्गालाई मनको एक कुनामा बसेको मोडलिङको हुटहुटीले ‘उपदेश’ बनायो ।
विभिन्न म्युजिक भिडियो तथा प्रस्तुतिहरुमा ‘उपदेश’ नामले चिनिने उनी मगर चलचित्रकर्मी संघका आजीवन सदस्य पनि हुन् । सालीभेना, पञ्चेबाजालगायतका गीतहरुमा अभिनय गरेका दुर्गा छुट्टीको बेला नेपाल आउँदा भ्याएसम्म अभिनय गर्ने गरेको बताउँछन् ।
जातीय चलचित्र ‘रैयाँ’ मा नायकको भूमिकाबाट रंगीन दुनियाँमा प्रवेश गरेका दुर्गाले मगर भाषाकै अर्को एक चलचित्रमा पनि अभिनय गरेका छन् । विभिन्न मगर भाषाका साथै अन्य म्युजिक भिडियोहरुमा अभिनय गरेका उनलाई यही क्षेत्रमा लागुँ भन्ने पनि नलागेको होइन, तर सबैले जस्तो जीवननिर्वाहका लागि अनुभव जुन क्षेत्रमा छ, त्यसैमा लाग्दा भविष्य सुरक्षित देखे उनले पनि, र लागे अफगानिस्तान ।
चारवर्ष अघि पञ्चे बाजामा लाहुरे म्युजिक भिडियो लिएर आएका दुर्गाले आफ्ना बाहेक अन्यको गीतहरुमा पनि मोडलिङ गरेका छन् । अहिले पछिल्लो समयमा आफ्नै गाउँ परिवेशलाई समेटेर नयाँ गीत ल्याएका छन् सालैजो ।
नवलपुरको बौंदीकाली क्षेत्रलाई समेटेर लालसरी ठाडाको प्रस्तुतिमा सार्वजनिक गरिएको उक्त सालैजो गीतमा सागर विरही, दुर्गा ठाडा र अनिता मश्रांगीको स्वर रहेको छ ।
आफ्नै जन्मस्थान एवं बौंदीकालीको तत्कालिन रकुवा गाविसको वडा नं. ८ स्थित घरमा नै धेरैजसो छायांकन गरिएको गीतमा बौंदीकाली क्षेत्रका सांस्कृतिक महत्व एवं सुन्दरताको वर्णन गरिएको छ । रकुवा एवं डेढगाउँको मौलोलाई समेट शब्दमा समेटिएको उक्त गीतमा कालीगण्डकी, डेढगाउँलगायतका स्थानको दृश्यांकन गरिएको छ ।
रकुवाका स्थानीयहरूलाइ नै समावेश गरेर छायांकन गरिएको उक्त म्यूजिक भिडियोको निर्देशन स्वयं ठाडाले नै गरेका छन् भने कोरियोग्राफी प्रशान्त गुरूङ र छायांकन अभिषेक माझीले गरेका छन् । नम्रता थापा मगर र स्वयं दुर्गाको नृत्य रहेको यस गीतमा स्थानीय कलाकार एवं प्रतिष्ठीत व्यक्तिहरूको पनि अभिनय समावेश गरिएको छ ।
जागीरे जीवनको अन्त्यसँगै कलाक्षेत्रमा जम्ने प्रण गरेका दुर्गाले भविष्यमा जातीय पहिचानका साथै समग्र कलाक्षेत्रलाई टेवा दिने बताउँछन् । आफू जहाँ भए पनि जन्मेको गाउँ ठाउँलाई सधैं सम्झिरहने बताउँछन् । ड्युटीकै समयमा पनि गाउँलाई सम्झिएका दुर्गाले अहिले महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न पनि गाउँबासीलाई अनुरोध गरे । उनले आफू सुरक्षित रहेको बताउँदै सम्पूर्ण गाउँबासीले कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गरे ।
प्रतिक्रिया