नेपाली सांगीतिक बजारमा उदाउँदै भक्तपुरे 'स्टार' कपिल

Kapil_Main

 

नेपालकै सानो जिल्ला भक्तपुर । राजधानीसँगै जोडिएको भक्तपुर । मौलिक परम्परा र सांस्कृतिक धरोहरको जिल्ला भक्तपुर । मौलिक संस्कृति र परम्परागत पहिचानको जिल्ला भक्तपुर । यससँगै भक्तपुरको विशेषणमा अर्को नाम थप्दै गीत संगीतबाट चिनाउने अभियानमा छन् कपिल कसपाल ।

नेपालको सांस्कृतिक नगरी भक्तपुरको सूर्यबिनायक नगरपालिका कटुन्जेमा ४१ वर्ष अगाडी जन्मिएका कसपालले स्नातकसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । करिब २ दशकदेखि गीत संगीतलाई नै आफ्नो करियर बनाउँदै अघि बढेका कसपालले जीवनधान्ने मेसोमा रेडियोकर्मी भएर पनि काम गरेको बताउँछन् ।

सन्देशमूलक गीत संगीत र रचनाका साथ सांगीतिक बजारमा प्रभाव जमाउन सफल कसपाल भक्तपुरका स्थापित एवं नेपाली संगीतका उदयीमान सर्जक हुन् । गायनबाट मात्र नभई आफ्नो संगीत र रचनाबाट स्रोतामाझ प्रभाव जमाउन सफल भक्तपुरे ह्यान्डसम गायक कसपाल पछिल्ला दिनमा समाजप्रति उत्तिकै उत्तरदायी भएर काम गरिरहेको जनाउँछन् ।

विगत डेढमहिनादेखि लकडाउनबाट आक्रान्त बनिरहेको यस परिवेशमा समेत सांगीतिक सिर्जनामा लगातार लागेका कसपालले भक्तपुरमा लकडाउनका कारण अलपत्र परेकाको उद्धारमा सहभागी भएर समाजप्रतिको दायित्व पनि निभाउने गरेका छन् ।

Kapil

 

करिब १२ वर्ष अगाडि 'न जोखेर जोखिन्छ' नामको गीत लिएर सांगीतिक बजारमा छिरेका कसपालले त्यसपछि भक्तपुरे सांगीतिक महोत्सव एवं कार्यक्रमहरुमामा आफ्नो सांगीतिक प्रभुत्व जमाउँदै आइरहेका छन् ।

‘रसिलो ओठ’ बोलको सुपरहिट गीत ल्याएका कसपाल भक्तपुरे महोत्सवका ‘डिमान्डेड स्टार’ नै हुन् । ओएसआर नेपालको दोस्रो संस्करणको अवार्ड कार्यक्रममा आधुनिक गीततर्फ उत्कृष्ट नवप्रतिभाको मनोनयनमा पर्न सफल कसपाल विन्दबासिनी म्युजिक अवार्डमा पनि पुरुष तर्फको कोभलमा उत्कृष्ट ५ मा पर्न सफल भएका थिए ।

नेपाली सांगीतिक बजारमा 'प्रेमपत्र', 'महशुस' जस्ता एल्बम ल्याइसकेका कसपालले भजन समेत गाइसकेका छन् । फरक–फरक धारबाट सांगीतिक क्षेत्रमा संलग्न रहेका उनको दमदार आवाजबाट नै उनी बहुमुखी प्रतिभाका धनी भएको स्पष्ट हुन्छ ।

‘आयो दशैं तिहार आयो’ बोलको गीतमार्फत् उनले नेपाली संस्कृतितर्फ छुट्टै आस्था दर्शाएका छन् भने ‘मायाको चेक’ का साथ डान्सिङ नम्बर लिएर युवायुवतीको ढुकढुकी बन्न सफल भएका छन् । प्रायः आफ्ना गीतमा शब्द र संगीत आफैं गर्ने कसपाल स्वर मात्र नभई रचना, संगीत, निर्देशन र कन्सेप्ट पनि आफ्नै रहने उनका गीतबाट उनी सांगीतिक क्षेत्रका ज्ञानभण्डार नै रहेको पुष्टी हुन्छ ।

Kapil_1

आफू जन्मेको सांस्कृतिक धरोहर भक्तपुरलाई चिनाउनका लागि हरेक पल अग्रसर कसपालले यसअघि ‘नेपाली शीरको कालो टोपी भक्तपुर भक्तपुर’ बोलको गीत बजारमा ल्याएका छन् ।

नेपाली सांगीतिक बजारकै उत्कृष्ट सर्जकहरु वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यमा र संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगः, वरिष्ठ संगीतकार दिपक जंगम, साहित्यकार जितेन्द्र रसिक, कृष्णमुरारी गौतमलगायतको उपस्थितिमा भक्तपुरको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक पक्ष समेटिएको गीत बजारमा ल्याएका कसपालको सिर्जनाले सबैलाई मोहित पार्ने गरेको छ ।

विशेष गरि सांस्कृतिक महत्वले ओतप्रोत भक्तपुर विशेष गीतको रचना कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ को रहेको छ भने संगीत तथा एरेन्ज संगीतकार बि.बि. अनुरागी र स्वर कसपालको रहेको छ । साहित्यकार एवं सञ्चारकर्मी जीतेन्द्र रसिकको सम्पादन, उत्पादन तथा संयोजनमा उक्त गीतले भक्तपुरलाई विश्वसामू चिनाउनका लागि विशेष भूमिका खेल्ने स्वयं कसपाल बताउँछन् ।

'मेरो राजा मेरो रानी,' 'आयो दशैं तिहारै आयो', 'ति यादहरु', 'ठेकीभित्र मदानी' गीत समावेश गरि बजारमा ल्याएका कसपालको 'महसुस' एल्बमको बरिष्ठ गायक एवं सर्जक प्रेमध्वज प्रधानले लोकार्पण गरेका थिए ।

अन्जु पन्त, सन्ध्या बुढा ‘काउली बुढी’, अधिश्री कस्पाल, गगन सरगम र स्वयं आफ्नो स्वरको संयोजन गरिएको उक्त एल्बममा हरि लम्साल, बुद्ध सायमी, निम संगीत, बद्रिनारायण ताम्रकारको र गायक स्वयंमको संगीत रहेको पनि बताएका छन् ।

देशको वर्तमान परिस्थितिका कारण लकडाउनमा परेको नेपालसँगै सांगीतिक दुनियामा कसपालले लकडाउन लगत्तै बरिष्ठ गायीका देबिका बन्दनासँगको समेत स्वर समावेश गरि दुईगीत तयार गरेका छन् । नेपाली र नेवारी भाषा गरी दुई भाषामा तयार गरिएको उक्त ‘अपकमिङ’ गीतमा निल शाक्यले संगीत दिएका छन् भने शब्द प्रतिमा श्रेष्ठ र शाक्यको रहेको जनाइएको छ ।

भक्तपुरका सांगीतिक समाजका उपाध्यक्षसमेत रहेका कसपाल भविष्यमा सांगीतिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि सक्रियताका साथ लागिरहने प्रण गर्दै विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्नका लागि सरकारको नियमभित्र रहेर सबै आम स्रोता एवं जनतालाई सांगीतिक वातावरणमा रहन समेत आग्रह गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित