प्रकाश सपुतको 'बा र दशैं'
काठमाडाैं । प्रकाश सपुत । नेपाली लोकबजारका उत्कृष्ट प्रतिभा । नेपाली सिनेमाका उदाउँदा नवनायक । नेपाली नेपाली गीत संगीतबाट तिर्खाएका जनता अनि संगीत पारखीका लागि मूलको चिसो पानी ।
विदेशिएका परदेशीहरुको कथाको प्रतिनिधित्व गर्ने ‘बोलमाया’, गाउँले परिवेशको प्रतिनिधित्व गर्ने ‘गलबन्दी’ र युवालाई लोकदोहोरीमा अभ्यस्त बनाउने सेतु बनेको ‘दोहोरी ब्याटल’ जस्ता बजारमा पस्केका प्रकाश पछिल्ला दिनमा नेपाली सिनेमाको बजारमा आफूलाई ‘नायक’ बनाउन लागी परेका छन्, र सुरुवात पनि गरिनै सकेका छन् । यी बाहेक उनका अन्य सृजना पनि यी भन्दा धेरै उत्कृष्ट अवश्य नै छन् तर पछिल्ला वर्षमा मान्छे यिनमै बानी परेका छन् ।
अहिले देश नै लकडाउनको चपेटामा परेको बेला उनी पनि गाउँमै रहेको सामाजिक सञ्जालमा उनको सक्रियता अनि अपडेटबाट प्रष्ट हुन्छ । सोही अवसरमा उनले आफूलाई कविका रुपमा पनि उभ्याउने प्रयास गरेका छन् । हुन त, गीतकार र कवि भन्नु एउटै हो, खाली सिर्जनाका विधा मात्र फरक । दुवै सिर्जनाकार हुन्, दुवै अक्षरका शिल्पीकार हुन् अनि दुवै अक्षरलाई बुट्टा भर्दै अरुलाई आनन्दित गराउने हुन् । त्यसैअनुरुप प्रकाशले आफूले सिर्जना गरेको सिर्जनालाई सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका रहेछन्, बा र दशैं ।
प्रस्तुत छ, उनको अनुमति नलिइकन समेटिएको कविता, बा र दशैं ।
“ बा र दशै “
हरेक ३/४ सालमा एकपटक
आउथे एक ज़ोड गहिरो आखा
र चुपचाप प्रश्न गर्थे मलाई
छोरा,
कहिले हुन्छन ठुलो ?
कहिले बाड्छस दु:ख ?
कहिले सक्छस साउको सावा ?
कहिले ठोक्काउछस म संग गिलास
र बन्छस बाउको साथी ?
उत्तरमा अर्का एक जोड़ निर्दोष आखाहरु
प्रश्नै फर्काउथे ।
बा,
कति पोल्दो हो अरबको घामले ?
कति पोल्दो हो हाम्रो यादले ?
कति पोल्दो हो साउको सावाले ?
कति पोल्दो हो आफ्नै अधुरा रहर
र कहिल्यै नसकिने दुखले ?
३/४ सालमा एकपटक
आउथ्यो, एउटा खदिलो ज्यानको गम्भिर अनुहार
र बनाउथ्यो घरै उजेलो
थपिन्थ्यो, आमाको सिन्दुर टिका र पोतेमा नया चमक ।
भिजाउथ्यो, भाईहरुको मुख गुलियो थुकले ।
सजिन्थ्यो, सबैको हरमा एक एक ज़ोर नया लुगा ।
पाक्थ्यो, अगेनामा बडो प्यारले पालेको रातों भाले ।
बस्थ्यो, पुरानो बाक्सामा केहि हज़ार नया नोटहरु ।
त्यो दिन,
दिन दशै हुदैनथ्यो
मन दशै हुन्थ्यो ।
किनकि
बा आएको साल
आएकै दिन दशै आउथ्यो
बा नआएको साल
दशैको दिन पनि दशै आउदैनथ्यो ।
प्रकाश सपुत
२६ बैशाख २०७७
प्रतिक्रिया