केपी ओलीले भने -अब मेनपावर कम्पनीहरु बन्द हुन्छन
अध्यक्ष ओली आफ्नी पत्नी, नेता अग्नि खरेल, कलाकारहरू राजेश घतानी र विल्सनविक्रम राईलगायतको ठूलो टोली लिएर झापा पुगेका हुन् । विमानस्थलमा ओलीलाई स्वागत गर्न उनका वृद्ध बुबासमेत पुगेका थिए । उनले पुष्पगुच्छा दिएर छोरालाई स्वागत गरे ।
सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले मुलुकले नयाँ इतिहास रचना गरेको बताए । उनले अब मुलुकको शासन सञ्चालनमा जनताको सहभागिता रहने दाबी गरे । ‘जन्मिँदै शासक हुने, कानुनभन्दा माथि रहने राजतन्त्र हामीले उखालेर फ्याँकिसक्यौँ,’ उनले भने, ‘अब जनताबाट निर्वाचित प्रतिनिधिले शासन चलाउँछन्, नीति, नियम र कानुन बनाउँछन् ।’
ओलीले केही वर्षभित्रै नेपालबाट गरिबी समाप्त पार्ने दाबी गरे । जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउने ओलीको भनाइ थियो । निर्वाचनमा पराजित उम्मेदवार तथा पार्टीलाई ओलीले पिर नगर्न आग्रह गरे । कुनै भेदभाव नगरी सबैलाई समेटेर लैजाने ओलीले बताए ।
‘म आफ्ना लागि होइन, देशका लागि लड्दै छु,’ उनले भने, ‘अब कोही पनि नेपालीले मेनपावरमा गएर आफ्ना छोराछोरीको नाम लेखाउनुपर्दैन, यहीँ रोजगारी सिर्जना गरिन्छ, केही वर्षभित्रै मेनपावर कार्यालयहरू ग्राहक नआएको पसलजस्तै हुनेछन् ।’ ओलीले आफ्नो ध्यान मुलुकलाई समृद्ध बनाउनेतर्फ हुने बताए । झापाबाट विजयी कोही पनि उम्मेदवारले भ्रष्टाचार नगर्ने उनले बताए । ओलीले भने, ‘म जमानी बसेको छु, उहाँहरूले गलत काम गर्नुहुने छैन ।’
प्रतिक्रिया