गोरखाको तान्द्राङमा नाइटबस दुर्घटना हुँदा ५ घाइते
गोरखा - भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । काठमाडौंबाट आरुघाटको सोती तर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान करिब ४ः ३० बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।
बस सडकबाट करिब २० मिटर तल खसेको ढकालले जनाए । दुर्घटनामा परी धार्चे गाउँपालिका ६ का वर्ष ५० का सुरमान घले, भीमसेन थापा गाउँपालिका–३ का २९ वर्षका उत्तम पुडासैनी, वर्ष ३० का मनोज पुडासैनी, वर्ष २९ का उज्ज्वल पुडासैनी र धार्चे गाउँपालिका केरौजाकी ३२ वर्षीया कान्छी गुरुङ गम्भीर घाइते भएका छन् ।
घाइते सबैको टाउको र छातीमा चोट लागेको प्रहरीको भनाइ छ । बसमा ३५ जना यात्रु सवार थिए । गम्भीर घाइतेमध्ये तीन जनालाई उपचारका लागि काठमाडौं पठाइको छ भने दुई जनालाई गोरखा अस्पताल ल्याइएको छ । बसका चालक सामान्य घाइते भएको र चालकलाई अहिले इलाका प्रहरी कार्यालय आरुघाटले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया