नियम उल्लंघन गर्ने चालकलाई प्रशिक्षण दिँदै चितवन ट्राफिक
भरतपुर । ट्राफिक नियम उल्लंघन गरेर सवारीसाधन चलाउने चालकलाई बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनले प्रशिक्षण दिन शुरू गरेको छ ।
आइतवारदेखि शुरू गरिएको अभियान बागमती प्रदेशका १० जिल्लामा लागू गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिए ।
अभियानअन्तर्गत मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, तीव्र गतिमा सवारीसाधन चलाउने, जथाभावी ओभरटेक गर्ने तथा लेन अनुशासन उल्लंघन गरी सवारीसाधन चलाउने चालकलाई प्रशिक्षण दिइने छ ।
पार्किङ निषेधित क्षेत्रमा सवारीसाधन पार्किङ गर्ने, सवारीसाधन दुर्घटना गराउने, सवारीचालक अनुमतिपत्र प्राप्त नगरी सवारीसाधन चलाउने तथा मोटरसाइकलको साइलेन्सर पाइपसहित स्वरूप परिवर्तन गरी चलाउने, ट्राफिक चेकिङबाट दोषी देखिएका सवारीसाधनका चालक तथा सहचालकलाई उनीहरूको कागजात फिर्ता दिनुपूर्व अनिवार्य ट्राफिक प्रशिक्षणको कक्षामा सहभागी हुनुपर्ने व्यवस्था मिलाइएको श्रीमलले बताए ।
अभियानअन्तर्गत आइतवार मात्रै चितवन जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने ४२ चालकरसहचालकलाई ३ घण्टा ट्राफिक शिक्षा प्रदान गरिएको भन्दै यसलाई नियमित रूपमा सञ्चालन गर्ने उनले बताए ।
प्रतिक्रिया