ओलीको अगाडि प्रचण्ड निरीह बनेः सांसद बस्नेत
काठमाडौं । प्रतिनिधिसभा संसदको बैठक सोमबार बसेको छ । उक्त बैठकमा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतले ओलीको अगाडि प्रचण्ड निरीह बनेको बताएका छन् ।
कार्यकारीको अधिकार प्रयोग गरेर प्रचण्डले प्रधानमन्त्रीको राजीनामा मागे पनि ओलीको अगाडि उनको केही नलागेको दाबी गरे।
‘चुनाव अगाडि गठबन्धन बनाए। चुनाव जितेपछि एकीकरण गराए। सरकार बनाउँदा आधा कार्यकाल मागे। कार्यकारी अध्यक्ष भएपछि भैगो भनेर छाडे। कार्यकारी प्रयोग गरी प्रधानमन्त्री र अध्यक्षको राजीनामा मागे। संसद विघटन गरेर परिवर्तनको घोषणा गरे। लोकतन्त्र संकटमा पर्यो भनेर चिच्याए,’ बस्नेतले भने।
संसदको पुनर्स्थापनापछि खुसी भएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेका नेता माधवकुमार नेपालले लड्डु खुवाएको भए पनि अहिले अविश्वासको प्रस्ताव ल्याउन नसकेको बस्नेतको भनाई छ। ‘लड्डु खाए। जसपाको अफिस धाए। विश्वासको मत फिर्ता लिन्छु भन्छन्, सक्दिनन्। अविश्वासको प्रस्ताव ल्याउँछु भन्छन्, सक्दिनन्। प्रधानमन्त्री बन्नुस भने कसैले मान्दैनन्,’ उनले भने।
प्रचण्डले द्वन्दकालका मुद्दा नउठाउने प्रधानमन्त्रीको खोजी गरेको आरोप समेत लगाए। ‘लडाकु प्रकरण र हेग नपुर्याउने भए प्रधानमन्त्रीको पद खाली छ। जसपा मानेन। कांग्रेस जागेन। केपी ओलीका अगाडि केही लागेन,’ बस्नेतले भने।
प्रतिक्रिया