इंग्ल्याण्डलाई हराउँदै इटालीलाई युरोकप उपाधि

Italy

लण्डन । घरेलु टोली इंग्ल्यान्डलाई हराउँदै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि चुमेको हो ।

वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीले जित हासिल गर्न सफल भयो ।

पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपरले रोकेका थिए ।

इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरेका थिए । मार्कुस राष्फोर्डको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपरले बचाउ गरेका थिए ।

खेलमा सुरुवाती अग्रता भने इंग्ल्यान्डले बनाएको थियो । खेलको दोस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १–१ गोलको बराबरीमा फर्काए ।

 

रोनाल्डोलाई गोल्डेनबुट

युरोकपको गोल्डेन बुट पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जितेका छन् । १६ औं संस्करणको युरोकप फुटबलमा सर्वाधिक गोल गर्दै उनले गोल्डेन बुटको अवार्ड हात पारेका हुन् ।

रोनाल्डोले प्रतियोगिता अवधिभर ५ गोल गरे । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् ।

चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले यस अवार्ड जितेका हुन् । प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित