उज्यालो नेपालका परिकल्पनाकार शर्मालाई अर्थ मन्त्रालयको साँचो

Janardan Sharma

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको सोमबारको फैसलापछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीका रुपमा नियुक्त भएका हुन् ।

यसअघि विसं २०६५ मा शान्ति तथा पुनःनिर्माणमन्त्री, विसं २०७३ मा ऊर्जामन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका शर्माले अर्थ मन्त्रालयको पदभार ग्रहण गरेका छन्  । ऊर्जामन्त्रीका रुपमा उनको  कार्यकाल स्मरणयोग्य  छ । चर्को  विद्युत्भार कटौतीका मारमा परेका नेपाली जनतालाई त्यसबाट मुक्त गराउन  उनले प्रभावकारी कदम चालेका थिए । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा डेपुटी कमाण्डर  शर्माको कार्ययोजनामा नै मुलुकले १६ घण्टासम्मको विद्युत्भार कटौतीबाट मुक्ति पाएको थियो । उज्यालो नेपाल निर्माणको श्रेय पाएका शर्मा प्रभावशाली नेता हुन् ।

मुसिकोट नगरपालिका–५ रुकुम पश्चिममा विसं २०२० वैशाख २६ गते बुबा इस्केन्द्र र आमा नर्मदा शर्माको सुपुत्रका रुपमा जन्मिएका शर्माको विशेष रुचिको क्षेत्र साहित्य र कृषि हो । उनी विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

विसं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, संविधानसभा २०६४ र २०७४ मा सदस्यका रुपमा निर्वाचित शर्माले  राजनीतिमा आउनुअघि कृषि अनुसन्धान केन्द्रमा पाँच वर्ष सेवा गरेका थिए ।  शर्माले जनसेवाश्री र संविधानसभा पदक प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित