एएफसी यू–२३ एसियन कपः नेपाल र लेबनान आज भिड्दै

nepal football

काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ ।

ताजिकिस्तानमा भइरहेको छनोट अन्तर्गत नेपाल र लेबनानबीचको खेल डुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

यसअघिका दुवै खेलमा पराजित नेपाल लेबनानविरुद्ध राम्रो नतिजासहित सुखद अन्त्य गर्न चाहन्छ ।

नेपाल यसअघि इरानसँग ४ – ० र ताजिकिस्तानसँग ६–० ले पराजित हुँदै छनोटबाटै बाहिरिसकेको छ ।

लेबनान पनि यसअघिका दुवै खेलमा पराजित भइसकेको छ । त्यसैले दुवै टोलीका लागि यो प्रतिष्ठाको लडाइसमेत हुनेछ ।

नेपाल र लेबनान अंकविहीन छन् । ताजिकिस्तान र इरान समान ६ अंक जोडेर पहिलो र दोस्रो स्थानमा छ । यी दुई टोलीबीचको खेल पनि आजै हुँदैछ । जित्ने टिम अर्को वर्ष हुने यू–२३ एसिया कपमा छनोट हुनेछ ।

छनोटमा रहेका ११ समूहका विजेता र उत्कृष्ट चार उपविजेता यू–२३ एसिया कपमा छनोट हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित