कांग्रेस सहमहामन्त्री यी हुन् ७ बिजेता
काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीको मतगणना अन्तिम चरणमा रहेको छ । अहिलेसम्म मधेशी सहमहामन्त्रीबाहेक अन्य सबैको विजेताको टुंगो लागिसकेको छ ।
अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेसको नयाँ सहमहामन्त्रीमा भिष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय, जीवन परियार, बद्री पाण्डे, फरमुल्ला मन्सुर, किशोरसिंह राठौर, उमाकान्त चौधरी रहेका छन् । मधेसी सहमहामन्त्रीमा महेन्द्र यादवले अग्रता लिइरहेका छन् ।
नेपाली कांग्रेसको सहमहान्त्रीमा पिछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् । पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा २४११ मत सहित ल्याउँदै विजयी भएका हुन् ।
शुक्रबार सकिएको मतगणनामा जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डेनिर्वाचित भएका हुन् । पराजित भएका शाही कर्णालीका मुख्यमन्त्री हुन् ।
त्यस्तै थारू सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् । उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् ।
त्यस्तै नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् ।शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार किशोरसिंहले २५७६ मत पाए भने देवराजले २५५९ मत ल्याए ।किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।
त्यस्तै मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा शेखवकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार फरमुल्लाहले २७७६ मत ल्याए भने शेखले १८७१ मतपाए । फरमुल्लाह देउवा र शेख कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।
मधेशी सहमहामन्त्रीमा भने महेन्द्र यादवले अग्रता लिइरहेका छन् । मधेसी क्लस्टरबाट सहमहामन्त्रीमा महेन्द्र यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा छन्।
यसअघि बिहीबार राती सम्पन्न गणनामा महिलामा डिना उपाध्याय, दलितमा जीवन परियार र जनजाती तर्फ भिष्मराज आङ्देम्बे विजयी भएका थिए ।
प्रतिक्रिया