प्रभाव राष्ट्रिय दैनिकका सम्पादक कमलराज राईको निधन
काठमाडौं । प्रभाव राष्ट्रिय दैनिकका सम्पादक एवं नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्य कमलराज राईको हृदयघातबाट निधन भएको छ । पत्रकार राईको काठमाडौंको नेपाल–भारत मैत्री अस्पताल मित्रपार्कमा उपचारको क्रममा बिहीबार साँझ निधन भएको हो ।
राईलाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यसपछि भेन्टिलेटरको आवश्यकता पर्ने अस्पतालले जनाएपछि थप उपचारका लागि नेपाल–भारत मैत्री अस्पताल लगिए पनि उपचारको क्रममा निधन भएको हो ।
दुईदशकदेखि पत्रकारितामा सक्रिय रूपमा रहेका स्वर्गीय राई नेपाल पत्रकार महासंघ काठमाडौं शाखा कार्यसमिति सदस्यसमेत थिए । राई गत साल सम्पन्न महासंघको सदस्यमा खुलातर्फबाट सर्वाधिक मतसहित विजयी भएका थिए ।
ओखलढुंगाको उबु गाउँमा जन्मिएका राईले माउन्टेन टेलिभिजन, सौर्य दैनिक, सिटिपोष्ट दैनिक, कमाण्डर पोष्ट दैनिकका साथै खम्बुवान पत्र, न्युज अप्रेसन, नयाँसन्देश साप्ताहिक, साप्ताहिक आवाजलगायतका धेरै सञ्चारमाध्यममार्फत् पत्रकारिता गरेका थिए । उनले गोरखा सैनिक आवाजबाट संवाददाताको रूपमा पत्रकारिता सुरु गरेका थिए ।
त्यस्तै उनी पछिल्लो समय खासखबर साप्ताहिकको प्रकाशक र सम्पादकसमेत रहेका थिए ।
प्रभाव राष्ट्रिय दैनिकमा राईले संस्थापक कार्यकारी सम्पादकको पदबाट काम सुरु गरेका थिए ।
आम सञ्चारमा स्नातकोत्तर अध्ययनरत राई पछिल्लो समय अर्थ सवाल साप्ताहिक, तामोकाशी साप्ताहिकमा नियमित लेखन पनि गर्दै आएका थिए । ४५ वर्षीय राई विवाहित हुन् । राईको शुक्रबार बिहान अन्तेष्टी गरिने उनको परिवारले जनाएको छ ।
प्रतिक्रिया