अझै ४ स्थानीय तहको मतपरिणाम आउन बाँकी
काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अझै चार स्थानीय तहको मतपरिणाम आउन बाँकी रहेको छ ।
अधिकांश स्थानमा पछिल्लो चरणमा पुगेको मतगणनामा अब काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।
मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौं महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए ।
काठमाडौं र तिलोत्तमामा पनि मतगणना अन्तिम चरणमै पुगेको छ । त्रियुगामा भने मतदानमै विवाद भएका कारण ढिलो गरी मतगणना सुरु भएकोले मतपरिणाम आउन समय लागेको हो ।
त्यस्तै सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।
प्रतिक्रिया