चरिफुरी निकै बढेको छ, नगरा पिटेर एमालेलाई विदा गर्ने भन्दैछन्

kp-sharma-1काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले पनि चुनावलाई टार्न नसक्ने बताएका छन् । एमाले केन्द्रीय मोर्चा संगठनको बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले बलियो छ भनेर चुनाव टार्न नसक्ने बताए । ‘एमाले कमजोर भएको छैन, मजवुत नै छ’ ओलीले भने–‘कोही तर्सिए तर्सिउन्, हामी हाम्रो स्ट्रेन्थ देखाउँछौं ।’ जो सुकै तर्सिए पनि एमालेले आफ्नो शक्ति देखाइछाड्ने उनको भनाई थियो । मधेस जनपरिचालन अभियान चलाएर मधेसका राजमार्गहरुमा शक्ति देखाउने उनले बताए । सभाहलमा एमाले नहट्ने भएकाले चौडाई नपुगेपछि शक्ति प्रदर्शनका लागि राजमार्गलाई रोजेको उनले बताए । अब एमालेका कार्यक्रमको तस्वीर स्याटलाइटबाट मात्र खिच्न सकिने उनले दोहोर्‍याए । तराई मधेसमा सुरु भएको एमालेमुक्त मधेस अभियानतर्फ संकेत गर्दै ओलीले केही मानिसहरुले उपद्रो मच्चाइरहेको र त्यो अन्तिम किस्ता भएको बताए । उनले भने–‘चरिफुरी निकै बढेको छ । नगरा पिटेर एमालेलाई विदा गर्ने भन्दैछन् ।’ मधेसमा २५ लाख मान्छे परिचालन गर्ने एमालेको दाबी सरकारले मधेसी मोर्चालाई समेत मनाएर संविधान संसोधन गर्दै स्थानीय चुनावको मिति घोषणा गर्न खोजिरहेका बेला प्रमुख प्रतिपक्ष नेकपा एमाले भने तराई मधेसमा २५ लाख मान्छे परिचालन गर्ने योजना बनाएको छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा महासचिव ईश्वर पोखरेल नेतृत्वको सचिवालयले फागुन २१ देखि शुरु हुने मधेस जनपरिचालन अभियानको कार्ययोजना बनाइरहेको छ । संविधान संशोधनबिना मधेसले संविधान स्वीकार नगर्ने मधेस केन्द्रित दलहरुले भनिरहेका बेला एमाले मधेसमा संगठन सुदृढिकरण तथा जन परिचालनको तयारीमा जुटेको हो । एमालेको लोकतान्त्रिक मधेशी संगठनका अध्यक्ष रघुवीर महासेठले एमाले मुक्त मधेसको नारा लगाउने कांग्रेस, माओवादी र मधेसी मोर्चालाई एक्लै एमालेले तराई मधेशमा टक्कर दिने गरी योजना बनाइएको दाबी गरे । उनले भने–‘संविधान संशोधन मधेसी मोर्चा र केही द्वन्द्व व्यवसायी मधेसी बुद्धिजीवीहरुको मात्रै माग हो, आम मधेसी सर्वसाधारणलाई यसको कुनै मतलब छैन ।’ एमालेले फागुन २१ माघमा झापाको काँकडभिट्टाबाट शुरु गर्ने मेची महाकाली तराई मधेस केन्द्रित अभियानमा २५ लाख मान्छे परिचालित हुने लक्ष्य राखेको छ । केन्द्रीय सचिवालयका सचिव प्रदिप ज्ञवालीका अनुसार यसबीचमा तराई मधेसका विभिन्न शहर र सदरमुकाममा ३५ ओटा ठूला आमसभा हुनेछन् । ती आमसभाअघि सानातिना प्रचार सभाहरु समेत मधेसमा हुनेछन् । विभिन्न ठाउँमा बास बस्दै तराईका शहरमा ठूलाठूला सभासहित जनपरिचालन गर्नेछ । यस क्रममा करीव २५ लाख जनता परिचालन हुनेछन् । पहाड र हिमालका जिल्लाहरुमा ४ महिने अभियानबाट उत्साहित भएको एमाले अब तराई मधेसमा केन्द्रित हुन थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित