माया गरेर बोलाउँदा जान्न भनेकी छैन: गायिका केसी

ritakcकाठमाडौं । गायिका रीता केसीको तालिका आजकल अलिक व्यस्त छ । विभिन्न जिल्लाहरूमा हुने महोत्सव, सांस्कृतिक कार्यक्रम र विदेशका सांगीतिक कार्यक्रमका कारण गायिका केसी व्यस्त भएकी हुन् । सुगम संगीत, लोकदोहोरी र फिल्मका गीत गाउँदै आएकी गायिका केसीलाई महोत्सवहरूमा जान पनि भ्याइनभ्याइ भएको छ । ‘आजकाल अलिक व्यस्त छु’, उनले भनिन्, ‘जिल्लाहरूमा हुने गरेका महोत्सवबाट निमन्त्रणा आउँछ । जाने गरेकी छु ।’ कमाइ कस्तो हुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘हुन्छ नि ! किन नहुनु ? आयोजकहरूले मिहिनेतको पारिश्रमिक दिने गर्नुभएको छ ।’ त्यसो भए तपाई खुसी हुनुहुन्छ ? भन्ने जिज्ञासामा गायिका केसीले भनिन्, ‘अर्को पेशा व्यवसाय छैन ।

 गीत संगीतकै कारण घरव्यवहार चलेको छ । माया गरेर बोलाउँदा जान्न भनेकी छैन ।’केसीले अहिलेसम्म दश वटा देशमा पुगेर सांस्कृतिक कार्यक्रममा भाग लिएकी छिन् । ‘विदेशबाट पनि बोलाउनु हुन्छ’, गायिका केसीले भनिन्, ‘अहिलेसम्म दश वटासम्म देशमा गएर कार्यक्रम प्रस्तुत गरेकी छु ।’

 महोत्सवहरूमा र विदेशका कार्यक्रममा दर्शक स्रोतले दिएको मायाले सांगीतिक क्षेत्रमा लाग्न ठूलो मद्दत मिलेको उनले बताइन् । भनिन्, ‘दर्शक, स्रोता र साथीहरूको मायाले अहिलेसम्म सांगीतिक क्षेत्रमा टिक्न सकेकी छु । मैले कमाएकै मेरा समर्थकहरू हो ।’तपाईका समकालीन गायक गायिकाहरूलाई धेरै पछाडि छाड्नु भयो नि भन्ने जिज्ञासामा उनले भनिन्, ‘मेरा समकालीन गायक गायिका धेरै राम्रा हुनुहुन्छ ।

 उहाँहरू सबै आ–आफ्नो स्थानमा राम्रो हुनुहुन्छ ।’ गायिका केसीसँग सांगीतिक क्षेत्रमा आएका कतिपय गायक गायिकाहरू ओझेलमा परेका छन् । यो देखेकी गायिका केसीले आफूले उनीहरूका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लाग्छ, भन्छिन् ।गीतसंगीतमा साधना अति आवश्यक रहने गायिका केसीको भनाइ छ । ‘संगीतमा स्नाकत्तोर गर्दैछु’, उनले भनिन्, ‘संगीतमा लागेपछि त्यसको औपचारिक ज्ञान पनि आवश्यक पर्छ ।’अहिलेका गीतसंगीत दर्शक स्रोताको मागअनुसार आएको बताएकी गायिका केसीले भनिन्, ‘गीतले समाजलाई सधै सकारात्मक सन्देश दिनुपर्छ । त्यसले केही राम्रो परिवर्तन ल्याउनु पर्छ ।’

 उनले कला र संगीतको क्षेत्रमा खुलेका संघ संगठनहरूले गीत संगीतको गुणस्तरमा पनि ध्यान दिनुपर्ने मान्यता राख्छिन् । ‘राज्यले ध्यान पुगाउन नसक्ने ठाउँमा हामी कलाकारले पनि ध्यान दिनुपर्छ’, उनले भनिन्, ‘गीतसंगीतको विषयमा सबैले आ–आफ्नो ठाउँबाट गम्भीर भएर एक पटक सोँच्नै पर्छ ।’भविष्यमा गीत मात्रै गाउने कि अरु केही व्यवसाय गर्ने विचार छ ? भन्ने प्रश्नमा गायिका केसीले भनिन्, ‘केही व्यापार गरौँ कि भन्ने विचार छ । अहिले नै भने त्यो सोँचेकी छैन । तर केही त गर्नै पर्ला नि ?-’प्रस्तुती: बिमल योगी

प्रतिक्रिया

सम्बन्धित