समस्या समाधान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

pm-uaeकाठमाडौं : दशौं विश्व भविष्य ऊर्जा सम्मेलनमा भाग लिन युएई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरुका समस्या समाधानलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । आवुधावीस्थित नेपाली दूतावासमा आयोजित अन्तरक्रियामा प्रधानमन्त्री दहालले सरकारले ब्लड मनी, पासपोर्टको नवीकरण शुल्क घटाउने लगायतका केही महत्वपूर्ण काम गरेको जानकारी गराए । दाहालले भने–‘मेरो नेतृत्वको सरकारले विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएको छ । हामी निरन्तर त्यसमा क्रियाशील छौं ।’ विदेशमा बस्ने नेपालीहरुले भोग्नुपरेका समस्या समाधान गर्न कुटनीतिक र राजनीतिक रुपले पहल गर्ने उनले आश्वासन समेत दिएका छन् ।  प्रधानमन्त्री दाहालले विदेशका काम गर्ने नेपालीले आर्जन गरेको अनुभव र पुँजी नेपालको विकासका लागि आधारशिला भएको पनि बताए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनले राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्नेमा सरकार दृढ रहेको पनि उल्लेख गरेका छन् । कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, शिष्टाचार महापाल दीपक अधिकारी लगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित