निर्वाचन आयोगले माग्यो अर्थसँग ११ अर्ब
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि अर्थमन्त्रालयसँग १० अर्ब ९८ करोड बढी बजेट माग गरेको छ।
आइतबार आयोगले अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड ९८ लाख बजेट माग गरेको प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
यो बजेट मन्त्रालयबाट निकासा हुन भने बाँकी छ।
सरकारले आउँदो मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको थियो। त्यो घोषणा गरेसँगै आयोग तयारीमा जुटेको थियो।
प्रवक्ता पौडेलका अनुसार स्थानीय तह निर्वाचनमा भन्दा यसपालि अनुमानित पाँच लाख बढी मतदाता थपिएका छन्। मतदाताको संख्या एक करोड ८२ लाख हुनसक्ने उनले बताए। यसको अन्तिम नामावली आयोगले पछि सार्वजनिक गर्ने जनाएको छ।
यस्तै करिब १० हजार ८२५ मतदान स्थल र २२ हजार ५०० मतदान केन्द्र बनाउने आयोगको तयारी छ। यो चुनावको लागि दुई लाख बढी जनशक्ति आवश्यक रहने प्रवक्ता पौडेलले बताए।
प्रतिक्रिया