आजबाट नेकपा एमालेको केन्द्रीय समिति बैठक, यी एजेन्डामा हुँदैछन् छलफल
काठमाडौं। स्थायी कमिटी बैठकले तय गरेका १९ वटा अजेन्डामा छलफल गर्नका लागि नेकपा एमालेको केन्द्रीय समिति बैठक आजवाट सुरु हुँदैछ ।
आगामी ४ मंशिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका अजेन्डामा छलफल गर्नका लागि आजबाट केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो ।
प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार बैठक दुई दिनसम्म चल्नेछ ।
प्रमुख गुरुङका अनुसार बैठकमा पहिलो एजेण्डाका रुपमा पार्टी अध्यक्षको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ । प्रतिवेदनमाथि छलफल र समूहगत छलफलपछि आवश्यक निर्याय लिइनेछ । दोस्रो एजेण्डाका रुपमा स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेका चार जना व्यक्तिलाई सपथग्रहण गराएर बैठकमा सहभागी गराइनेछ । तेस्रो एजेण्डाका रुपमा यसअघि पार्टी सचिवालयले गरेका सबै निर्णयहरू अनुमोदनका लागि प्रस्तुत गरिनेछ ।
चौथो एजेण्डामा आगामी निर्वाचनका उम्मेदवारको छनौट प्रक्रिया र मापदण्ड तयार गर्ने रहेको छ । यी एजेण्डा पारित गरेर चुनावमा लाग्ने गुरुङले बताए। पाँचौ एजेण्डा स्थानीय तह निर्वाचनका सम्बन्धमा प्राप्त उजुरीहरुको छानबिन गरेर पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले तयार पारेको रिर्पोट बैठकमा प्रस्तुत हुनेछ ।
संगठित सदस्यहरूको सदस्यता नम्बर दोहोरिएको बारे पनि व्यवस्थापन गर्नेगरी बैठकमा प्रताव गरिनेछ । यस्तै, भोलिको बैठकमा पार्टीका तीन आयोगको रिर्पोट पनि पेश हुनेछ ।
प्रतिक्रिया