निधिलाई सिध्याउन देउवा समूहभित्र जन्मियो अर्को गुट

bimalendra nidhiकाठमाडौं । नेपाली कांग्रेसभित्र नेता विमलेन्द्र निधिको ‘पावर’ बढ्दै गएकोमा सभापति शेरबहादुर देउवा समूहभित्रकै उपगुटलाई मन पर्न छाडेको छ । भारत र देउवाको निकट बनेर विश्वास कमाउँदै गएका निधिले एकपछि अर्को गरेर राष्ट्र र कांग्रेसलाई नोक्सानी हुने निर्णय थालेपछि उनीविरुद्ध देउवा समूहकै नेताहरु प्रतिरोधमा लागेका हुन् । देउवाले अहिले कांग्रेसभित्र अरु नेताहरु छन् भन्ने नै भुलेका छन् । निधिका कुरा अन्धभक्त भएर सुन्ने गरेको उनीमाथि आरोप छ । उपसभापति पद खुमबहादुर खड्कालाई दिने सहमति भारतीय राजदूत रणजित रायसँगको गोप्य मिटिङमा गरेका देउवाले अहिले निधिको दबाबमा सो पद नदिने पक्षमा पुगिसकेका छन् ।

 यो कुरा चाल पाएका खड्काले देउवा समूहभित्र खेल्ने योजना बनाएका छन् । स्रोतका अनुसार आफूले उपसभापति नपाउने भएपछि निधिलाई पनि रोक्ने योजनामा खड्का पुगेका हुन् । खड्काले उपसभापतिमा देउवा समूहका प्रभावशाली र वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई अगाडि सारेका छन् ।

 खड्काले देउवासँग उपसभापति आफूले नपाउने भए गोपालमान श्रेष्ठलाई दिनका लागि सिफारिस गरेको स्रोतको भनाई छ । खड्काको यो प्रस्तावमा देउवा सकारात्मक छन् । तर, निधिले आफूलाई उपसभापतिमा रोक्ने षड्यन्त्र भएको भन्दै देउवासँग श्रेष्ठलाई उपसभापति दिने कुरामा आफू असहमत रहेको जनाइसकेका छन् ।

 देउवासँगको गोप्य मिटिङमा खड्काले महामन्त्री र सहमहामन्त्री एवम् चार केन्द्रीय सदस्य आफूले भनेका व्यक्ति हुनुपर्ने अडान भने कायम राखेका छन् । खड्काले महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा पुष्पा भुसाललाई अगाडि सारेका छन् । उपसभापतिमा श्रेष्ठलाई ल्याउन सकिए कांग्रेसभित्र खेल्न सकिन्छ कि भन्ने दाउमा खड्का छन् ।यदि आफूले भनेअनुसार कुनै पनि काम गर्न सभापति देउवा तयार नभए खड्काले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई घोषित रुपमा सहयोग गर्ने तयारी गरेको स्रोतको दावी छ । पौडेल समूह पनि खड्कालाई आफू नजिक ल्याएर देउवा र निधिको सबै योजनाहरु भताभुङ्ग गर्ने योजनामा छ । महामन्त्री र सिचाइमन्त्रीबीच बोलचाल बन्द महामन्त्री डा.शशांक कोइराला र सिचाइमन्त्री दीपक गिरीबीच बोलचाल बन्द भएको छ । डा.कोइरालाको कोटामा मन्त्री बनेका गिरीले कार्यसम्पादन गर्न नसकेको तथा पार्टीका नेता कार्यकर्तालाई संरक्षण नगरेको भन्दै आलोचनामा उत्रिएपछि मन्त्री गिरी महामन्त्री डा.कोइरालासँग रिसाएका हुन् ।

 वर्षौंसम्मको सहकार्य र सम्वन्धले मन्त्री पद पाएका गिरीको कारोबारकै विषयलाई लिएर कोइरालासँग सम्बन्ध विग्रिएको हो । सिचाइमन्त्री गिरीका सल्लाहकार र आसेपासेले दिने गलत सुझावको पछि लाग्दा महामन्त्री डा.कोइरालासँगको समबन्ध विग्रिएको गिरीले बुझेका छन् । महामन्त्री डा.कोइराला र मन्त्री गिरीको सम्बन्ध अब सुधार हुनै नसक्ने अवस्थामा पुगेको एक नेताले बताए । हुन त मन्त्री गिरीले ‘म अब सभापति शेरबहादुर देउवाको गुटमा पुगिसके’ भन्ने गरेका छन् । देउवा गुटमा पनि मन्त्री गिरीलाई त्यति सजिलो छैन ।मन्त्रालयलाई सचिवसँग सात करोडमा ठेक्का लगाए पैसा असुल गरेको समाचार बाहिरिएपछि दिक्क बनेका सिचाइमन्त्री गिरीले भनेका कुरा सचिवले मान्नै छाडेका छन् ।

 मन्त्री गिरीको निजी सचिवालयमा रहेका सहयोगीहरु नै भ्रष्ट भएपछि गिरीलाई काम गर्न समस्या भएको स्रोतको भनाई छ । मन्त्री गिरीका स्वकीय सचिव नै चरम आर्थिक अनियमिततामा फसेका कर्मचारी हुन् । उनलाई आफ्नै गृह जिल्ला दाङमा हाकिम भएका बेला स्थानीयले जुत्ताको माला लगाएर नगरपरिक्रमा गराउने तयारी समेत गरेका थिए । तर, रातारात ती व्यक्ति भागेपछि बच्न सफल भएका थिए । उनै व्यक्तिलाई मन्त्री गिरीले आफ्नो स्वकीय सचिव बनाएका छन् ।यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित