विष्णु पौडेल र खिमलाल भट्टराई एकल सिफारिस, घनश्याम भुसाल सर्वसम्मत भएनन्
बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुपौडेल रुपन्देही निर्वाचन-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत रुपमा सिफारिस भएका छन् । क्षेत्रीय कमिटीको बैठकले पौडेलको एकल नाम सिफारिस गरेको हो ।
पौडेल २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर रुपमा यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । २०६४ सालको संविधान सभा निर्वाचनमा उनले काँग्रेसका नेता सूर्यप्रसाद प्रधानलाई हराएका थिए भने२०७० सालको निर्वाचनमा तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराईलाई पराजित गरेका थिए । यस्तै, गत आम निर्वाचनमा पौडेलले काँग्रेस नेता युवराज गिरीलाई २२ हजारभन्दा बढी मतान्तरले हराउँदै विजयी भएका थिए ।
रुपन्देहीलाई विकासको रोलमोडल जिल्ला बनाउने भन्दै विकासका योजना अगाडि बढाईरहेका पौडेलले विकासप्रेमी नेताको रुपमा आफ्नो पहिचान बनाएका छन् ।बुटवल–भैरहवा ६ लेन सडक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, तिनाउ–दानव कोरिडोर, बुटवल–नारायणगढ चारलेन सडक उनकै पहलमा अघि बढेका ठूला आयोजना हुन् ।
एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्बर ५ को बैठकले खिमलाल भट्टराईलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा सर्वसम्मत सिफारिस गरेको छ । उनी राष्ट्रिय सभाका सचेतक पनि हुन् । क्षेत्रीय कमिटीले उनको नाम मात्रै उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।
क्षेत्र नम्बर ३ मा एमालेले नेता घनश्याम भुसाल र वासुदेव घिमिरेको नाम सिफारिस गरेको छ । भुसाल स्थायी कमिटी सदस्य हुन् भने घिमिरे तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर हुन् । तिलोत्तमा नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाएको भन्दै यस क्षेत्रमा घिमिरेको लोकप्रियता बढ्दो देखिएको कार्यकर्ताहरु बताउँछन् ।
प्रतिक्रिया