गैरआवासीय नेपालीलाई नागरिकता दिन विलम्ब गर्नु हुँदैन : अध्यक्ष ओली

kp-oli
काठमाडौँ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिन विलम्ब गर्न नहुने बताउनुभएको छ । “गैरआवासीय नेपालीलाई नागरिकता दिन विलम्ब हुन नहुने थियो”, उहाँले भन्नुभयो, “यो विषयलाई निर्वाचनपछि समाधान गर्छौं, गैरआवासीय नेपालीलाई तुरुन्त नागरिकता उपलब्ध गराइनेछ ।”

गैरआवासीय नेपाली दिवस एवं गैरआवसीय नेपाली सङ्घको वार्षिक साधारणसभाको आज काठमाडौँमा समापन गर्दै उहाँले आफूले सरकारको नेतृत्व गरेको समयमा गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन नागरिकता विधेयक अगाडि बढाउन खोजे पनि सत्ता साझेदारका कारण निणायार्थ प्रस्तुत गर्न नसकेको जिकिर गर्नुभयो । “गैरआवासीय नेपालीका माग स्वभाविक छन्, मैले त्यसलाई समर्थन गर्र्दै आइरहेको छु”, उहाँले भन्नुभयो ।

गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि लगानी गर्न आह्वान गर्दै उहाँले लगानीको व्यवधान हटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । “गैरआवासीय नेपालीलाई नेपालमा लगानीका लागि सहज ढङ्गको वातावरण बनाइनेछ, लगानीको प्रक्रियालाई सरलीकृत गरिनेछ”, पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रवासी नेपालीलाई जहाँ भए पनि मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगले प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले नेपाली जहाँ भए पनि मताधिकारको प्रयोग गर्न पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताउनुभयो । उहाँले भूकम्प, नाकाबन्दी तथा कोरोना महामारीमा गैरआवासीय नेपालीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

एमालेको नेता डा सूर्य पाठकले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान, प्रवासी नेपालीलाई मताधिकारको प्रयोग, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउने तथा पुस्तौँदेखि बर्मा, मलेसिया, थाइल्याण्डलगायत मुलुकमा रहेका नेपालीलाई पनि गैरआवासीय नेपालीले पाउने अधिकार दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले मुलुकको विकासका लागि गैरआवासीय नेपाली एकजुट हुनुपर्ने उल्लेख गर्र्दै गैरआवासीय नेपालीले उठाएको मुद्दामा आफ्नो पार्टीको समर्थन रहेको बताउनुभयो ।

सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मातृभूमिलाई समृद्ध बनाउने गैरआवासीय नेपालीले आआफ्नो क्षमता प्रदर्शन गर्दै आइरहेको बताउनुभयो । उहाँले सरकार र सबै राजनीतिक दलले विदेशमा रहेका नेपालीले नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरिदिनुपर्ने बताउनुभयो ।

सङ्घका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीले विदेशमा नेपालको प्रतिनिधित्व गरिरहेको जनाउँदै अध्यादेश ल्याएर भए पनि गैरआवासीय नेपालीलाई तत्काल नागरिकता दिइनुपर्ने बताउनुभयो । सङ्घका अर्का अध्यक्ष कूल आचार्यले नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीले सच्चा साझेदारीको पहल गरिरहेको बताउनुभयो ।

दुई दिनसम्म चलेको सो साधारणसभा आज १० बुँदे काठमाडौँ घोषणापत्र जारी गर्र्दै सम्पन्न भएको छ । सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

रासस

प्रतिक्रिया

सम्बन्धित