के हुन्छ आजको संसद बैठकमा सत्ता पक्ष र प्रतिपक्षबीच ?
काठमाडौं : सरकार र मधेसवादी दलले संविधान संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गर्ने बताइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रस्ताव फिर्ता लिएर तीनै तहको निर्वाचन मिति घोषणा गर्न माग गरेको छ। सत्तापक्षले जबरजस्ती संशोधन विधेयक सदनमा टेबुलको तयारी एमालेले संसदीय दलको बैठक पनि बोलाएको छ । आज मध्यान्ह नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकबाट एमालेले सदनमा कसरी प्रस्तुत हुने निर्णय गर्नेछ । एमालेका मुख्य सचेतक भानुभक्त ढकालले आजको संसद बैठकको तयारीका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको बताए । पाँच नम्बर प्रदेशबाट तराई र पहाडका जिल्ला अलग गराउने गरी सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाएपछि एमालेसहितका नौँ दलहरू सडक र सदन आन्दोलनमा छन् ।स्रोतका अनुसार आजको संसद बैठकमा सरकारले जबरजस्ती संशोधन विधेयक अगाडि बढाउन खोज्यो भने एमालेसहितका प्रतिपक्ष दलहरूले रोष्टम घेराउसम्म गर्ने चेतावनी दिएका छन् । सोही तयारी स्वरुप एमालेले आफ्ना सांसदहरूलाई सदनमा उपस्थित हुन कडा निर्देशन समेत दिएको छ । यता, प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अपिल प्रकाशित गरी संशोधन विधेयकले निर्वाचन अन्योलमा पारेको उल्लेख गरेका थिए। अपिलमा शुक्रबार हुने राजधानी केन्द्रित प्रदर्शन संशोधन प्रस्ताव फिर्ता गराउन जनदबाब दिन भएको उल्लेख छ। ‘आजको मुख्य काम संविधान कार्यान्वयन हो, संविधान संशोधन गलत छ र जाति–जातिबीच, भूगोल–भूगोलबीच द्वन्द्व चर्काउने कुनै पनि काम मञ्जुर छैन भन्ने जनभावना प्रकट गर्न चाहन्छौं’, अपिलमा भनिएको छ, ‘यस प्रदर्शनले अँध्यारो कोठाबाट राष्ट्रियता, राष्ट्रिय हित र सामाजिक सद्भावविरुद्ध भइरहेका षड्यन्त्र विफल पार्न निर्णायक भूमिका खेल्ने विश्वास हामीले लिएका छौं।’ एमालेसहित संविधान संशोधनको विरोध गर्दै आएका राजनीतिक दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्ने योजना बनाएका छन्। त्यसका लागि एमालेले आन्तरिक तयारी तीव्र पारेको छ। एमालेले संविधान संशोधनको प्रक्रिया र अन्तरवस्तु गलत भएको जनाएको छ। सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै संसद्मा प्रदेशका सीमांकन हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभा गठन विषयमा संशोधन प्रस्ताव दर्ता गरेको छ।
प्रतिक्रिया