पुरानै संरचनामा स्थानीय चुनाव हुँदैन : प्रधानमन्त्री

prachanda1पोखरा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन नहुने बताएका छन् । पुरानै संरचना अनुसार निर्वाचन हुने सार्वजनिक भइरहेको बेला दाहालले त्यस्तो कुनै निर्णय नभएको बताएका हुन् । पहिलो चरणमा स्थानीय तहकै निर्वाचन हुने बताउँदै उनले प्रमुख तीन दलका शीर्ष नेताबीच अहिलेको निकायलाई तह बनाएर निर्वाचन गर्ने छलफल भएको दावी गरे । प्रेस सेन्टर कास्कीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री दाहालले भने–‘म, शेरबहादुर देउवा र केपी ओलीबीच गाविस र नगरपालिकालाई संशोधन गरी स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल भएको हो । तर, निष्कर्षमा पुगिएको छैन । र, ‘पुरानै संरचनामा निर्वाचन हुने प्रचारमा कुनै सत्यता छैन ।’ संविधान कार्यान्वयनको आधारभूत र संस्थागतरुपले सुनिश्चितता गर्ने कुुरा निर्वाचनसँग जोडिएको भन्दै दाहालले संविधानले भनेअनुसार स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गरी देशमा राजनीतिक स्थिरता सुनिश्चित गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । ‘अहिलेको मुख्य काम र चुनौती संविधान कार्यान्वयन हो । मधेसी, आदिवासी, जनजातिलाई विश्वासमा लिएर गर्न सकिने विषयलाई सम्बोधन गरी सबैलाई लिएर निर्वाचनमा जान आवश्यक छ’– उनले भने । कार्यक्रममा बोल्दै उनले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने पनि बताएका छन्। असन्तुष्ट प्रतिपक्ष एवम् आन्दोलनरत दलसँग छलफलका आधारमा परिमार्जन गरेर अघि बढ्ने बताउँदै उनले भने–‘ुसरकारले संशोधन प्रस्ताव सबैलाई सहमति हुने किसिमले ल्याएको हो, झन्डै चार महिना लगाएर संशोधन प्रस्ताव ल्याइएको छ । प्रतिपक्ष, मधेसी मोर्चा, थारु, सङ्घीय गठबन्धनसँग धेरै छलफलपछि मात्र संशोधन प्रस्ताव ल्याइएको हो।’ संशोधन प्रस्ताव अङ्गीकृतलाई राष्ट्रपति बनाउने, हिन्दी भाषालाई राष्ट्रभाषा बनाउने, देश विखण्डन गर्ने गरी प्रचार गरिएको भन्दै उनले नेपाली जनतालाई चोट पुर्याउने केही विषय त्यसमा नरहेको उल्लेख गरे । प्रमुख  शक्तिबीच छलफल भएर संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरी निर्वाचनमा जानुको विकल्प नरहेको उनले बताए । उनले ५ नम्बर प्रदेशको  सीमांकन एमालेले नै अघि सारेको बताए  । ‘केपी ओली प्रस्तावक र कांग्रेस समर्थक भएर तयार पारिएको प्रस्ताव मैले ल्याएको मात्र हुँ’ उनले भने–‘राष्ट्रघाती, देश विखण्डन गर्ने गलत प्रचार गर्नुको औचित्य छैन ।’ आफूले प्रस्ताव गर्दा राष्ट्रवादी र अरुले गर्दा राष्ट्रघाती नहुने भन्दै पहाडसँग नजोडिएको २ नम्बर प्रदेशको सीमांकनमा किन विरोध नभएको भन्दै उनले प्रश्न गरेका छन् । राष्ट्रलाई एकताबद्ध गर्न, मधेस, पहाड, हिमाल जुटाउन, मधेसी, जनजातिलाई सँगै लिएर हिँड्न खोज्दा आरोप लगाएर जनता उत्तेजित बनाउन खोजिएको उनले आरोप लगाए ।्

प्रतिक्रिया

सम्बन्धित