आफू अनुकुल राष्ट्रपति बनाउन छिमेकी मुलुकको चलखेल :अध्यक्ष केसी
काठमाडौं.
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा भारतले चलखेल सुरु भएको बताएका छन् । अध्यक्ष केसीले नेपालको राष्ट्रपति चुनावलाई लक्षित गरी विदेशीहरुको भ्रमण भइरहेको पनि जिकिर गरे । यस्ता विषयमा पहिले शक्ति राष्ट्रहरुको हस्तक्षेप अप्रत्यक्ष रुपले हुने भए पनि अहिले त प्रत्यक्ष नै देखिएको दावी गरे ।
‘नेपालमा अहिले चर्चाको विषय छ, राष्ट्रपति कसलाई बनाउने ? ‘अहिले त प्रत्यक्ष रुपले आफ्नो देशको अनुकुल मान्छे राष्ट्रपति बनाउने खेल खेलिरहेका छन्’ उनले भने ।
बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले छिमेकी मुलुकका कर्मचारी आउँदासमेत नेपालका राष्ट्रप्रमुख, सरकारप्रमुख र विभिन्न उच्च तहका व्यक्तिहरू लम्पसार पर्नुले राष्ट्रपति निर्वाचनमा छिमेकी देशको चलखेल प्रष्ट देखिएको उनले बताए।
यस्तो प्रवृत्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र सार्वभौम अखण्डतामा दखल पुगेको केसीले बताए । शक्ति राष्ट्रहरूले यसअघि राष्ट्रपति र प्रधानमन्त्री आफू अनुकुलका व्यक्तिलाई बनाउन अप्रत्यक्ष रुपमा चलखेल गर्ने भएपनि अहिले प्रत्यक्ष रुपमा हस्तक्षेप हुन थालेको उनले बताए।
प्रतिक्रिया